जनकपुर बोल्टस्को विजयी शुरूआत
काठमाडौं,मंसिर १६ । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उद्घाटन खेलमा विराटनगर किङ्सलाई हराउँदै जनकपुर बोल्टस्ले सिजनकै पहिलो विजयी शुरुआता गरेको छ ।
विराटनगर किङ्सबाट १२८ रको लक्ष्य पाएको जनकपुरले १५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । जितमा जनकपुरबोल्ट्सका लाहिरु मिलन्थाको अर्धसतक सहित मिलन्थाले सर्वाधिक ७५ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।
पहिलो ओभरमा नै ओपनर आसिफ शेखलाई पहिलो विकेट रुपमा गुमाएको जनकपुरले अर्का ओपनर तथा कप्तान अनिल शाहलाई दोस्रो ओभरमा गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अनिल ४ बलमा ५ रन जोड्दै प्रतिस जिशीको बलमा बोल्ड आउट भएका थिए ।
जनकपुरका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका मिलन्थाले ३९ बलमा आफ्नो अर्धसतक पूरा गरेका हुन् । तेस्रो विकेटका लागि हर्ष ठाकरसँग मिलेर १ सय १६ रनको नट आउट साझेदारी गरे । ठाकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रन बनाए ।
पहिलो ओभरको चौथो बलमा अर्का ओपनर आसिफ ३ बलमा रनको खाता नै नखोलि आउट भएका थिए् । आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा बोल्ड आउट गराएका हुन् । विराटनगरका लागि क्रिस सोल र प्रतिस जिशीले समान १ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार जनकपुरले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा रन १ सय २७ रनमा समेटिएको थियो ।
विराटनगरका ओपनर गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाए । गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी हर्ष ठाकरको बलमा अनिल शाहबाट समातिए ।
अकिब इल्यासले १८ बलमा १५ रन जोडे । एक समय ७६ मा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको विराटनगरले रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि ललितनारायण राजवंशीले एनपिएलको आफ्नो पहिलो बलमा सहित ३ विकेट लिए । किशोर महतो र हर्ष ठाकरले समान २ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले समान १ विकेट लिए ।
जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् ।
जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् । विराटनगर किङ्सको मार्की खेलाडी एवं कप्तान सन्दीप लामिछाने छन् ।
विराटनगरका कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जीतेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभास भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजील्याण्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कट्ल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।