एनपीएलका प्रत्येक चौकामा विद्यार्थीलाई एनसेल फाउन्डेसनको शैक्षिक सामग्री



काठमाडौं,मंसिर १५। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारओटा शैक्षिक सामाग्री प्रदान गर्नेछ ।

‘यस पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरको ढोका खोल्न मद्दत पुर्‍याउनेछ । विद्यार्थीले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् । शैक्षिक सामाग्रीहरूको वितरण क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिनेछ । जसले सामुदायिक विद्यालयका लक्षित विद्यार्थीसम्म यी सामाग्रीहरू पुग्ने सुनिश्चितता गर्ने अपेक्षा एनसेलले गरेको छ ।

क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारी अन्तर्गत एनसेल, नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्