६० कटेका दम्पतीको सफल व्यवसाय, २० रोपनीमा माछापालन, वार्षिक कमाई २० लाख
चितवन,मंसिर १४ । चितवनको माडी नगरपालिका, अयोध्यापुरीमा ६० वर्ष नाघेका दम्पतीले माछापालन व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । ६९ वर्षका कुलप्रसाद भण्डारी र ६२ वर्षकी पिप्ला भण्डारी जिल्लामै सफल माछापालक कृषकका रूपमा परिचित छन् । विगत १५ वर्षदेखि नै यो जोडी माछापालन व्यवसायमा लागे पनि व्यावसायिक रूपमा भने चार वर्षदेखि सक्रिय रहेको छ ।
भण्डारी दम्पतीले २० रोपनी जग्गा लिजमा लिएर माछापालन गरिरहेका छन् । उमेर ६० कटे पनि निकै जोसिला देखिने उनीहरूले इन्जिनियर छोराले शुरू गरेको यो व्यवसाय अहिले आफैले चलाएका हुन् । ‘छोराहरूले शुरू गर्ने आँट गरे पनि बीचमै छोड्न खोजेपछि हामी बुढाबुढीले गर्ने आँट गर्यौं, अहिले सजिलै चलाइरहेका छौं,’ उनीहरूले भने । १ करोड ५० लाख रुपैयाँ लगानी रहेको माछापालन व्यवसायका लागि पिल्लाले ५० लाख रुपैयाँ ग्रामीण उद्यम कर्जा लिएकी हुन्, जुन कर्जा एशियाली विकास बैंक (एडिबी)ले सरकारमार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई उपलब्ध गराउँछ । कृषिलाई प्राथमिकतामा राखेर किसानहरूको जीवनस्तर उकास्नकै लागि विभिन्न महिला सहकारीमार्फत प्रदान गरिने यो कर्जा आफूले अयोध्यापुरी महिला साना किसान सहकारीमार्फत अडाई वर्षअघि लिएको उनले बताइन् । आफूसँगै पाँचजनाको लगानीमा शुरू गरेको माछापालन व्यवसायका लागि ग्रामीण उद्यम कर्जा लिएकी उनले अडाई वर्षमा ५० लाख रुपैयाँ कर्जा घटाएर ३८ लाख रुपैयाँमा झारिसकेकी छिन् ।
२० रोपनीमध्ये ११ रोपनीमा माछापालनका लागि जलाशय निर्माण गरेको भण्डारीले बताइन् । ‘१२ ओटा पोखरीमा ग्रास, नैनी, सिल्भर, ग्रास, रहु लगायत जातका माछा पालेका छौं,’ उनले भनिन्, ‘पोखरी मर्मत गर्नु नपरेका वर्ष वार्षिक १८ लाखदेखि २० लाख रुपैयाँसम्म खुद नाफा कमाएका छौं । खर्च नकटाउँदा वार्षिक ४८ देखि ५० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको भण्डारी दम्पतीको भनाइ छ । उनीहरूले उत्पादन गरेको माछा चितवन, काठमाडौं र पोखरामा विक्री हुने गरेको छ । माछा विक्रीका लागि बजारको समस्या नभएको उनीहरू बताउँछन् ।
पोखरीबाट माछा झिक्ने, तौलने लगायत काम गर्न तीनजना स्थानीय युवालाई रोजगारी दिएको र धेरैजसो काम आफै गर्ने उनीहरूले सुनाए । दिनभरि माछालाई चारो दिने, रेखदेख गर्ने मात्र होइन, रातमा सुरक्षाका लागि समेत उनीहरू आफै खटिन्छन् । माछापालन क्षेत्र जंगल नजिक भएकाले त्यो क्षेत्रमा बाघ, भालुको समेत डर भए पनि राति बत्ती बालेर पोखरीको रेखदेख गर्ने गरेका छन् ।
व्यवसायमा आफूहरू सफल बनिरहँदा आफूहरूका लागि उमेर अंक मात्र रहेको कुलप्रसाद सुनाउँछन् । ‘यो व्यवसाय अझै केही वर्ष गर्छौं, हामीपछि पनि सन्ततीले यसलाई निरन्तरता दिए हुन्थ्यो । छोराहरूले शुरूमै छाडेको गुनासो गर्दै उनीहरूले आफूपछि जेठा छोरीज्वाइँले यो व्यवसाय अघि बढाउने आशा व्यक्त गरे ।