पशुपतिमा बत्ति बाल्न शुल्क लाग्दैनः कोष, नियोजित भ्रम फैलाइएको आशंका
काठमाडौँ,मंसिर १३ । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीमा पशुपतिमा बत्ति बाल्न भक्तजनले कुनै पनि शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ । विहीबार सामाजिक सञ्जालका ‘पशुपतिमा बत्तिबाल्न शुल्क तिर्नुपर्ने’ खबरले ब्यापकता पाएपछि कोषले पत्रकार सम्मेलन नै आयोजना गरेर प्रष्टिकरण दिएको हो ।
कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले उक्त हल्लालाई ‘नियोजित रुपमा भ्रम फैलाउन खोजिएको हुनसक्ने’ भनेका छन् । ‘पशुपतिमा बत्ति बाल्न कुनै पनि शुल्क लाग्दैन । यदि कसैले शुल्क लिएको थाहा भयो भने कोषलाई जानकारी गराउनु होला, हामी कानूनी कारबाही गर्छौँ’, उनले भने, ‘आफैँ आएर पशुपतिको प्राङ्गणमा बत्ति बाल्ने कोही पनि भक्तजनबाट शुल्क लिइँदैन ।’
बरु कोषले आफ्नै खर्चमा भक्तजनको सुविधाका लागि टेन्ट राख्नेदेखि धूनि बाल्नेसम्मका सेवा दिइने जोशीले बताए । सुरक्षा प्रबन्ध र मेला व्यवस्थापनका निम्ति कोषले विशेष व्यवस्था गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।तर पशुपतिमा बत्ति कुरेर बस्न नसक्ने वा स्वदेशमा नरहेर पनि पितृको नाममा बत्ति बाल्न चाहने भक्तजनका लागि कोषले नै अलग्गै पुजारी राखेर बत्ति बाल्ने सुविधा दिँदै आएको छ । धेरै वर्ष पहिलेदेखि कोषले यस्तो सुविधा उपलब्ध गराउँदै आएको थियो ।
तर पशुपतिमा बत्ति कुरेर बस्न नसक्ने वा स्वदेशमा नरहेर पनि पितृको नाममा बत्ति बाल्न चाहने भक्तजनका लागि कोषले नै अलग्गै पुजारी राखेर बत्ति बाल्ने सुविधा दिँदै आएको छ । धेरै वर्ष पहिलेदेखि कोषले यस्तो सुविधा उपलब्ध गराउँदै आएको थियो ।
‘कोही मानिस नेपालमा छैनन् र उनीहरु बत्ति बाल्न चाहन्छन् भने निश्चित शुल्क तिरेर कोषले नै सबै काम गरिदिने व्यवस्था गर्दै आइएको छ’, कार्यकारी निर्देशक जोशीले भने, ‘त्यस्तो प्रयोजनका लागि मात्रै २१ सय रुपैयाँ शुल्क निर्धारण गरिएको हो ।’
यसरी बत्ति बाल्नेहरुले शुल्क बुझाएर आफ्नो र पितृको नाम टिपाइसकेपछि कोषले नै बत्ति बालिदिने सुविधा दिँदै आएको छ । यसका लागि ब्राह्मण राखेर सम्बन्धित जजमान (कर्ता)कै नाममा संकल्प गरिदिने व्यवस्था रहेको जोशीले बताए ।
साथै बत्ति, तेल लगायत सबै आवस्यक व्यवस्था कोषले नै गरिदिने र विहान बत्ति सेलाउने (विसर्जन गर्ने) काम पनि कोषले नै गरिदिने जोशीले बताए । यसरी पुरा ‘प्याकेज’मा बत्तिको बालिदिने सेवाका लागि शुल्क निर्धारण गरिएको उनले स्पष्ट पारे । ‘तर स्वयम् व्यक्ति उपस्थिति भएर वा आफूआफू नै बत्तिको जिम्मा लिएर बाल्ने कोही कसैसँग पनि कोषले शुल्क लिँदैन’, उनले भने ।