प्रधानमन्त्री बनिदिनुपर्यो भनेर हप्तामा एकचोटी खबर आउँछ : महामन्त्री थापा
काठमाडौ,मंसिर १३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताएका छन् । बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले स्थिरताका लागि सो आवश्यक भएको प्रष्ट पारे ।
महामन्त्री थापाले भने, “हामी लड्छौँ भन्दै गर्दा कोही पनि हाम्रो दुष्मन छैन।न प्रचण्ड हाम्रो दुस्मन हो न केपी ओली।आज केपी ओलीसँगसगै सरकारमा छौँ। हामी इमानदारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौँ।किनकि, हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ।परिणाम दिन चाहन्छौँ ।”
उनले अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट हप्तामा एक पटक प्रधानमन्त्री बनिदिनुस् भनेर प्रस्ताव आउने गरेको कुरा समेत खुलासा गरे ।
उनले भने, “प्रचण्डले भर्खर बोलेर जानुभयो कि, यो–यो कारणले गर्दा सरकार बदलियो।नेपाली कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठुलो पार्टी हो।अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ, लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर।यो खबर पठाउने काम पहिले अर्कैले गर्थे ।”
उनले शान्ति प्रक्रिया, संविधान निर्माणका बेलामा जस्तो कांग्रेसले अवस्था सम्हाल्न खोजेको बताए ।