रसुवामा आगलागीबाट तीन घर जले
रसुवा,मंसिर १३ । विद्युत् सट भई लागेका आगोबाट कालिका गाउँपालिका १ ग्राङ इलाका क्षेत्रमा बिहीबार तीन घर जलेर नष्ट भएको छ । रसुवा जिल्लाकै विकटबस्तीका रुपमा रहेको ग्राङको घुमाउने क्षेत्रमा पासाङ म्हेन्दो तामाङको घरमा बिहीबार बिहान विद्युत् सट हुँदा आगलागी भएको ग्राङ प्रहरी चौकीले जनाएको छ ।
आगलागीका कारण घर तथा लत्ता कपडा, भाडाकुँडा, गरगहना नगदसमेत जलेर नष्ट हुँदा करिब २७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए । उनका अनुसार आलागीबाट साविक राम्चे गाविस ३ तथा हाल कालिका गाउँपालिका १ निवासी नेमानुर्पु तामाङ, छिरिङ तेम्बा तामाङ र पासाङनुर्पु तामाङको घर जलेर नष्ट भएका छन् ।
सोही घरबाट तार तानी विद्युत् उपयोग गरिरहेका छिमेकी दुई घरसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मौजुदा विद्युत् ऐन, नियममा एउटाको घरमा जोडिएको मिटरबाट तार तानी अर्को घरमा बत्ति बाल्न नपाइने कानुनी व्यवस्था भएपनि रसुवाका दुर्गम गाउँबस्तीमा यो नियम पालना भएको देखिँदैन ।
घरमा विद्युत् सट भई लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय बासिन्दा समेतको सहयोगमा दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।