श्रीलङ्कामा पहिलो पटक वामपन्थी नेता राष्ट्रपति निर्वाचित
काठमाडौ,मंसिर १३ । श्रीलङ्कामा पहिलो पटक वामपन्थी नेतालाई राष्ट्रपति निर्वाचित गरिएको छ । ५५ वर्षीय अनुराकुमारा दिसानायके राष्ट्रपतिमा निर्वाचित भएका हुन् । चरम आर्थिक सङ्कट परेको मुलुकलाई निकास दिने, लाखौँ नागरिकलाई गरिबीबाट मुक्त गर्ने, बेरोजगारी समस्या समाधान गरी नागरिकलाई राहतको अनुभूति दिलाउने चुनौतीको भारी उनीसामु रहेको छ ।
श्रीलङ्कामा सन् २०२२ को जनविद्रोहले तत्कालीन सरकार सत्ताच्युत भएपछि पहिलो पटक सेप्टेम्बर २१ मा राष्ट्रपति पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा दिसानायक, सजिथ प्रेमदासा, रनिल बिक्रमासिङ्घेसहित ३८ जना चुनावी मैदानमा थिए । सेप्टेम्बर २२ मा भएको पहिलो चरणको मतगणनामा कसैको पनि बहुमत नआएपछि सोही दिन दोस्रो चरणको मतगणना गरियो । अग्रस्थानमा रहेका दुई उम्मेदवार दिसानायके र पे्रमदासाबीच मतगणना गरिँदा दिसानायके निर्वाचित भए । सन् २०२२ देखि राष्ट्रपति बनेका बिक्रमासिङ्घे भने पहिलो चरणमै पराजित भए ।
श्रीलङ्काको इतिहासमा पहिलोपटक राष्ट्रपति निर्वाचन दोस्रो चरणको मतगणनामा पुगेको हो । त्यहाँको संविधान अनुसार राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ । निर्वाचनमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ । पहिलो मतगणनामा कुनै पनि उम्मेदवारले आवश्यक मत ल्याउन नसकेपछि पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिए । त्यसपछि ती उम्मेदवारलाई प्रदान गरिएको मतमध्ये दोस्रो र तेस्रो प्राथमिकता दिइएको मतगणना गरेसँगै विजेताको टुङ्गो लगाइएको थियो ।