जुम्ला साक्षर जिल्ला घोषणा
जुम्ला,मंसिर १२ । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो ।
जुम्लाको टुँडिखेलमा आयोजना गरिएको साक्षर जिल्ला घोषणा कार्यक्रममा प्रदेश सभा सांसद देवेन्द्र बहादुर शाहीले ब्यानर उद्घाटन गर्दै जुम्ला साक्षर जिल्ला घोषणा गरे भने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जिल्लाका आठै वटा स्थानीय तहले तयार पारि शिक्षा विकास तथा समन्वय एकाइ पठाइएको एकीकृत तथ्याङ्क पढेर सुनाउदै साक्षर जिल्लाको घोषणा गरे ।
जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला संयोजक गौरीनन्द आचार्यका अनुसार राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत माथी साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने आधार बमोजिम जुम्ला जिल्लाको १५ देखि ६० उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ६९ हजार चार सय ७७ अर्थात् ९६.०७ प्रतिशतले साक्षर भएको छ ।