डिडिसीलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गर्न सक्दो प्रयास गर्दैछु : कृषिमन्त्री अधिकारी
काठमाडौ,मंसिर १२ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफुले सक्दो प्रयास गरिरहेको वताएका छन्। मंगलबार मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तवरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यसको नतिजा चाँडै देखिने उल्लेख गरे ।
विगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारले उल्लेख गरे । यो समयमा डिडिसीले दूध खरिदमा विगत देखिनै कोटा निर्धारण गर्ने गरेको जानकारी आफूलाई आएको भएपनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले वताए ।
सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दूधमा पनि आत्मनिर्भरको विषय उठाउँदै गर्दा किसानको दूध खरीद नगर्ने भन्ने कुरा हुन सक्दैन , मन्त्री अधिकारीले भने । केही सन्चार माध्यममा किसानको दूध सरकारी संस्थानले नकिनेको विषय आएको तर दूध बिक्री नभएको गुनासो किसान मार्फत नआएको भए पनि यस विषयलाई आफूले गम्भीरता पुर्बक लिएको र केही दिनमा यथार्थ बाहिर ल्याउने पनि वताए। ज्ञापन पत्र बुझाउदै सञ्जालले दूध, उखु, सुपारी लगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।