हिउँदे अधिवेशनमा मिडिया काउन्सिललगायतका विधेयक पारित गर्ने तयारीमा छौँ : मन्त्री गुरुङ
बनेपा, मङ्सिर ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आगामी हिउँदे अधिवेशनमा मिडिया काउन्सिल विधेयकलगायतका विभिन्न विधेयकलाई पारित गर्ने गरी छलफल अघि बढाएको बताएका छन् ।
मङ्गलबार काभ्रेपलान्चोकबाट सञ्चालित एक सञ्चारमाध्यमको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सञ्चार माध्यमहरूको नियमनलाई व्यवस्थित बनाउनका लागि मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल प्रयोग, सञ्चालन र नियमन विधेयक र साइबर सेक्युरिटी क्राइमसम्बन्धी ऐन ल्याउन लागेको बताएका हुन् ।
मन्त्री गुरुङले प्रेस काउन्सिलमार्फत सञ्चारमाध्यमहरूको नियमन भइरहे पनि त्यो अपर्याप्त भएकोले मिडिया काउन्सिललाई स्वायत्त संस्थाको रूपमा विकास गर्नका लागि मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको बताए । उनले मिडिया काउन्सिल विधेयक संसदीय समितिमा छलफलमा रहेकोले आउने हिउँदे अधिवेशनमा पास गर्ने तयारी भइरहेको बताए । उनले मिडिया विधेयकसँगे सामाजिक सञ्जाल प्रयोग, सञ्चालन, नियमन र साइबर सेक्युरिटी क्राइमसम्बन्धी ऐन समेत हिउँदे अधिवेशनबाट पास गर्ने गरी छलफल भइरहेको बताए ।