बंगुर पालनबाट वार्षिक २० लाखसम्म कमाउछ्न पोखराका थापा



पोखरा,मंसिर १० । पछिल्लो समय पैसा कमाउन भन्दै विदेशिने युवाको जमात बढिरहँदा पोखराका एक युवाले भने कृषि व्यवसायबाट वार्षिक राम्रो आम्दानी गरिरहेका छन् । कास्कीको मादी गाउँपालिका–५ मादीवेसीका ३२ वर्षका वीरेन्द्र थापा मगरले बङ्गुर पालन गरेर वार्षिक १८ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका हुन् । 

कक्षा १२ उत्तीर्ण गरेदेखि नै कृषि पेशामा लागेका मगरले शुरूमा एक–दुईओटा मात्र बङ्गुर पाल्ने गरेकोमा हाल माऊ, पाठासहित ५१ ओटा बङ्गुर पालिरहेका छन् । अहिले बङ्गुरमा साना बच्चा ३१ ओटा, बेच्न मिल्ने खालका १३ ओटा र भाले बङ्गुर (ठूला) सातओटा रहेको मगर बताउँछन् । सबै साथी विदेश जाने तयारी गरिरहँदा आफू भने आफ्नै देशमा केही गरौं भन्ने सोचले यो व्यवसायमा लागेको उनी सुनाउँछन् । शुरूमा आफ्नै ६० हजार रुपैयाँ लगानीबाट शुरू भएको बङ्गुर पालन व्यवसायबाट अहिले लाखौंको आम्दानी हुने गरेको उनको भनाइ छ । 

उनको व्यवसाय विस्तारका लागि भने ग्रामीण उद्यम कर्जा सहयोगी बन्यो, जुन कर्जा एशियाली विकास बैंक (एडीबी)ले सरकारमार्फत साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई उपलब्ध गराउने गर्दछ । ग्रामीण उद्यम कर्जाका रूपमा ९ प्रतिशतको सहुलियत ब्याजदरमा साना किसान कृषि सहकारी संस्थामार्फत गतवर्षको पुसमा १५ लाख रुपैयाँ कर्जा लिएका मगरले हालसम्म व्यवसाय विस्तार गर्दै तीन लाख रुपैयाँ ऋण समेत तिरिसकेका छन् ।

पोखरा बजारबाट करीब १२ किलोमिटर दूरीमा रहेको व्यवसाय स्थलबाट मगरले आफै बङ्गुर काटेर मासु विक्री गर्ने गरेका छन् । प्रतिकेजी ५८० रुपैयाँदेखि ६०० रुपैयाँसम्ममा बङ्गुरको मासु विक्री गर्ने मगर एउटै बङ्गुर १४४ केजीसम्मको हुने बताउँछन् । स्थानीय बजारमै खपत हुने भएकाले विक्रीमा समस्या नरहेको उनको भनाइ छ । उनले बङ्गुरपालनसँगै तरकारीखेती समेत गर्दै आएका छन् । चार रोपनी जग्गामा उनले बङ्गुर पालन तथा तरकारीखेती गरिरहेका छन् । स्वदेशमै बसेर गरेको आम्दानीले मगरले आफ्ना आमा, बुबा, श्रीमती र छोरीसहित पाँचजनाको परिवार पालिरहेका छन् । घरका एक्लो छोरा उनी स्वदेशमै बसेर आमा बुबाको सहारा बन्न पाएकोमा गर्व गर्छन् । छरछिमेकका उनका धेरै युवा साथी विदेश गएका छन् । उनीहरूले आफूलाई फोन गरेर स्वदेशमै बसेर गरेको कामको प्रशंसा गर्ने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘विदेशमा भएका साथीहरू अब हामी पनि स्वदेश फर्केर कृषि नै गर्छौं भन्छन् ।’

नेपालमा बसेर कृषि व्यवसाय गर्ने राम्रो वातावरण बन्न थालेको उनको अनुभव छ । देशमा रोजगारी नै नदेख्ने युवाहरूलाई उनी स्वदेशमै बसेर विदेशको भन्दा बढी कमाउन सकिने सुझाउँछन् । सहकारीमार्फत सहुलियत ब्याजदरमा प्रवाह हुने ग्रामीण उद्यम कर्जा आफूजस्ता व्यवसायीका लागि उपयोगी भएको उनको भनाइ छ । उनी आगामी दिनमा कर्जा थप गरी व्यवसाय बढाउने सोचमा समेत छन् । 

ग्रामीण उद्यम कर्जाका कारण आफू स्वदेशमै सफल व्यवसायी बनेकाले अन्य युवालाई समेत विदेश जान नपर्नेगरी यो कर्जा विस्तारमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनको सुझाव छ । 

प्रतिक्रिया दिनुहोस्