धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस



काठमाडौं,मंसिर १० । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले डा. नवराज अधिकारी, सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठको नाम सिफारिस गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । 

बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस हुनेमध्ये डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् भने सन्तोषनारायण श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणका पूर्वसञ्चालक हुन् । स्रोतका अनुसार उनीहरूलाई कार्ययोजना प्रस्तुति र अन्तरवार्ताका आधारमा सिफारिस गरिएको हो । 

मन्त्रिपरिषद बैठकले यी तीनजनाबाट एकजनालाई बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ । सिफारिस समितिले छोटो सूचीमा परेका ५ जनामध्ये ४ जनासँग अन्तरवार्ता लिएको छ भने एक जना उम्मेदवार भने अन्तरवार्तामा अनुपस्थित रहेका छन् । 

समितिले छोटो सूचीमा परेका ५ जनालाई गत असारमा अन्तरवार्ता र कार्ययोजना प्रस्तुतिमा बोलाउँदा २ जना उम्मेदवार मात्रै सहभागी भएका थिए । त्यो बेला त्यो बेला सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले अन्तरवार्ता दिएका थिए । अन्य तीनजना भने त्यो बेला अनुपस्थित भएका थिए । 

छोटो सूचीमा परेका ३ जनाभन्दा कम उम्मेदवार अन्तरवार्तामा सहभागी भएपछि त्यो बेला बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रोकिएको थियो । 

त्यसपछि समितिले आइतवार त्यो बेला अन्तरवार्तामा अनुपस्थित तीनजना उम्मेदवारलाई अन्तरवार्ता र कार्ययोजना प्रस्तुतिका लागि बोलाएको थियो । जसमा डा. अधिकारी र कृष्णबहादुर कार्की सहभागी हुँदा चिरञ्जिवी चापागाईं भने अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्