सरकारले घटायो सुनचाँदीको भन्सार दर



काठमाडौं,मंसिर १० । चर्को दबाबपछि सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढेको आशंका हुँदै आएको थियो । भन्सार दर घटाउन पछिल्लो समय सरकारलाई चर्को दबाब पर्दै आएको थियो ।

हालैको मन्त्रीपरिषद् बैठकबाट सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय भएको हो । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीका अनुसार यससम्बन्धि मन्त्रिपरिषद्को निर्णय आइतबार मात्र विभागमा पुगेको र यससँगै नयाँ दर कार्यान्वयनमा आएको छ । चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ ।

‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो,’ उनले भने । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो । उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्