सरकारले घटायो सुनचाँदीको भन्सार शुल्क, अब कति सस्तिएला बजार मूल्य ?



काठमाडौं,मंसिर ९ । सुनको भन्सार शुल्क घटाइएको छ । सरकारले सुनको भन्सार महसुल दर घटाएको हो । यसअघि सुनको भन्सार २० प्रतिशत रहेको थियो । तर, गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भने घटाएर १० प्रतिशत कायम गरेको छ ।

सोही बैठकले चाँदीको भन्सार महसुल पनि १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको अर्थमन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । उनका अनुसार गत घटाइएको सुन र चाँदीको भन्सार महसुल गत शुक्रबारदेखि नै लागू भएको छ । योसँगै वाणिज्य बैंकहरुले पनि गत शुक्रबारदेखि नै लाभ लिइरहेका छन् । सुन आयातको जिम्मा वाणिज्य बैंकहरुलाई दिइएको छ । हाल बैंकहरुले दैनिक २० केजी सुन आयात गर्दै आएका छन् ।

भन्सार घटासँगै बजार भाउ पनि सस्तिने गर्छ । हाल बजार भाउ आकाशिदो सुनको व्यापार समेत असन्तुलन देखिएको छ । सुनको भाउ घटेसँगै उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

घटाइएको शुल्क गत शुक्रबारदेखि नै लागू भएता पनि बजार मूल्यमा भने त्यसको प्रभाव परेको देखिँदैन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार नेपाली बजारमा सुनको भाउ १ लाख ६४ हजार रुपैयाँ थियो । शुक्रबार भने थप १ हजार ५०० रुपैयाँ महँगिएर १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको थियो । आज अर्थात् मंसिर ९ गते पनि सुनको मूल्य थप १ हजार ७०० रुपैयाँ महँगिएको छ ।

भन्सार महसुल सस्तिएसँगै सुनको मूल्य पनि तल झर्ने अनुमान गरिएको थियो । भन्सार महसुल घटाइएको प्रभाव १–२ दिनमा देखिन सक्ने बताइएको छ । ‘घटाइएको भन्सार गत शुक्रबारदेखि नै लागू भइसेको छ । आइतबारसम्म खासै प्रभाव देखिएको छैन । अब १–२ दिनमा बजार मूल्यमा पर्न सक्छ’, अर्थमन्त्रालयका प्रवक्ता भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्