सिन्धुपाल्चोकमा दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र
सिन्धुपाल्चोक, मङ्सिर ९ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य फेरि रोकिएको छ । काम नगरी ठेकेदार कम्पनी गिरी जेभी कन्स्ट्रक्सन फरार भएपछि रङ्गशालाको काम अगाडि बढ्न नसकेको हो ।
२०७६ सालबाट निर्माण सुरु गरिएको मिनी रङ्गशालाको निर्माण ३ वर्षमा सक्नु पर्ने सरकार र ठेकेदार कम्पनीको सम्झौता थियो । तर ठेकेदार गिरी जेभी कन्स्ट्रक्सनले पार्टनर जेभी लिम्बु सुनकोसी कन्स्ट्रक्सन कामको जिम्मा दिई आफू फरार हुँदा निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हो ।
रङ्गशाला निर्माणका लागि सरकारले दुई पटक म्याद थपेको थियो । तर पनि ठेकेदारले काम नगरेपछि निर्माण कार्यका लागि थपिएको दुई पटकको समयमा सुस्त पाराको कामले रङ्गशाला पूरा गर्न सकेन । थपिएको दुई पटकको समय पनि गत वर्षको चैतमा सकिएको छ । त्यसपछि त निर्माण कार्य नै छाडेर ठेकेदार पक्ष बेपत्ता अवस्थामा छ । ४१ करोड ६२ लाख रुपियाँमा ठेक्का पाएको निर्माण कम्पनीले यति लामो समयसम्म बल्ल ७० प्रतिशत काम गरेको थियो । अहिले बाँकी काम बेवारिसे तरीकाले छाडेर ठेकेदार फरार छ ।
बाँकी काम गर्न छाडेर बेपत्ता अवस्थामा रहेको निर्माण कम्पनीले सरकारले पुन तेस्रो पटक म्याद थप्नु पर्ने र भूत्तानी तत्काल दिएमा रोकिएको कामले गति पाउने ठेकेदार पक्षका सुनकोसी गिरी जेभीका प्रतिनिधि जेवी लिम्बुले सरकारसँग माग राखेका छन । म्याद मात्रै थप माग गर्ने तर काम नगर्ने ठेकेदारलाई तत्काल कारबाही हुनुपर्ने स्थानीयवासी बलेदेव तिमल्सिनाले सरकारसँग आग्रह गरेका छन् । असोजदेखि नै ठेकेदारले काम छाडेर फरार हुँदा सरकारले ठेकेदारलाई कालोसूचीमा राख्नु पर्ने उनले बताए ।
दोस्रो पटक म्याद थपेपछि ठेकेदार कम्पनीले निर्माण कार्यलाई सुस्त ढङ्गले अगाडि बढाएको थियो । यदि तीव्र रूपमा निर्माण कार्य गरेको भएमा थपिएकै अवधिमा काम सम्पन्न हुने थियो । म्याद मात्रै थपको माग गर्ने तर काम नगर्ने निर्माण कम्पनीलाई ठेक्का सम्झौता गर्न नै नहुने सिन्धुवासीको धारणा छ । असोजदेखि अहिलेसम्म काम छाडेर निर्माण कम्पनी फरार हुँदा मिनी रङ्गशाला निर्माण अलपत्र रहदैं आएको छ ।
६ हजार दर्शक अट्ने र ५ सय सवारीसाधन पार्किङ गर्न मिल्ने क्षमताको रङ्गशाला निर्माण कार्य अलपत्र हुदाँँ ठेकेदारको मनोमानी बढेको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयलाई अलपत्र अवस्थामा रहेको सो रङ्गशालाको पछिल्लो अवस्था अनुगमन गरी निर्णय गर्न अधिकार छ । तर उक्त मन्त्रालयले अनुगमन र निर्णय छिटो नगर्दा अन्योल बढेको छ । प्रदेश सरकारले यस विषयमा तत्काल निर्णय लिनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ बताउछन् ।
मिनी रङ्गशाला निर्माण भएकोले टुँडिखेल मैदानमा ६ वर्ष बढी समयदेखि कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल भएका छैनन् । खेलकुदका विभिन्न प्रतियोगिता अन्यत्रका मैदानमा गर्नु पर्ने बाध्यता रहेको सिन्धुपाल्चोक फुटबल सङ्घका पदाधिकारीहरू बताउँछन् । ६ वर्षदेखि उक्त मैदानमा निर्माण सामाग्री यत्रतत्र छरिएर रहेका छन् ।