बैतडीमा लोपोन्मुख गिद्धका भेटिए चौध गुँड
बैतडी,मंसिर ७ । बैतडीमा लोपोन्मुख गिद्धका १४ वटा गुँड भेटिएका छन् । प्रकृतिको कुचीकारका रूपमा चिनिने लोपोन्मुख गिद्ध संरक्षणका लागि नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको खोजी गर्दा बैतडीका विभिन्न स्थानमा हिमाली खैरो जातको गिद्धले गुँड लगाएर प्रजनन गरिरहेको पाइएको छ । अध्ययनले बैतडीमा बस्ने गिद्धको प्रजनन क्षमता ७५ प्रतिशत रहेको पाइएको छ । बैतडीका विभिन्न स्थानमा गिद्धबारे अध्ययन गर्दा पाटन नगरपालिका–८ को खोड्पे आसपासका अग्ला भिरमा लोपोन्मुख गिद्धका गुँड भेटिएका हुन् । त्यसै गरी सँगै जोडिएको क्षेत्र डडेलधुरामा डँगर गिद्धको पनि गुँड भेटिएको छ ।
नेपालमा पाइने नौ किसिमका गिद्धमध्ये सुदूरपश्चिमको कञ्चनपुर र कैलालीपछि पहाडी जिल्ला बैतडीमा सबैभन्दा बढी गिद्धको वासस्थान रहेको नेपाल पन्छी संरक्षण सङ्घको धनगढीस्थित प्रदेश कार्यालयका हिरुलाल डगौराले बताए ।
बैतडीमा खैरो जातको अति सङ्कटापन्न गिद्धका साथै सुन, सेतो, डँगर, राज, हिमाली खैरो, हाडफोर प्रजातिका लोपोन्मुख गिद्ध भेटिएको उनले बताए । नेपाल पन्छी संरक्षण सङ्घका पदाधिकारीले गिद्ध संरक्षणका लागि बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेर गिद्धको खोजी गर्ने कार्य गरिरहेको जानकारी दिदै डगौराले बैतडी जिल्ला गिद्धको सुरक्षित वासस्थानका रूपमा उपयुक्त देखिएको बताए ।
आहारको कमी, डढेलो चुनौती
वातावरण सन्तुलनका लागि प्रकृतिको कुचीकार गिद्धको संरक्षण गर्नु अनिवार्य मानिए पनि पछिल्लो समय पहाडी जिल्लामा आहारको कमी हुँदै गएको छ । किसानले मरेका पशुचौपाया खाल्डोमा गाड्ने गर्दा आहारको कमी हुन थालेको छ भने डढेलोका कारण गिद्धका गुँड सङ्कटमा पर्ने गरेका छन् ।
पछिल्लो समय बिरामी पशुको उपचारमा डाइक्लोफेनक नामको औषधी पूर्ण रूपमा बन्द भएकाले गिद्धलाई कुनै असर नपरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका पशु चिकित्सक डा. विशाल पाठकले बताए । हाल मरेका पशु खाने गिद्धलाई असर पर्ने कुनै औषधी प्रयोगमा छैन । आहाराको कमीसँगै बैतडीमा डढेलो अर्को चुनौती रहेको विज्ञ हिरुलाल डगौराले बताए । उनले नेपालमा गरिएका विभिन्न अध्ययनले विगतका दुई दशकमा गिद्धको सङ्ख्या ९० प्रतिशत घटेको बताए ।
गएको चैत वैशाखमा गिद्धले गुँड लगाएकै स्थान पाटन नगरपालिका–८, ९ र १० का वनमा भीषण आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराउँदा पनि नियन्त्रण हुन नसकेको पाटन नगरपालिका–१० का वडाध्यक्ष धनवीरसिंह कुँवरले बताए ।
डडेलोसम्बन्धी सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम हुँदै आएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले जानकारी दिए ।