सुदूरपश्चिम प्रदेशमा प्रयोगविहीन भए अर्बौंका संरचना



बैतडी, मङ्सिर ७ । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा एक अर्ब २१ करोड रुपियाँ खर्च गरेर तयार गरेका संरचना सुनसान बनेका छन् । प्रदेशमा पर्यटक आकर्षित गर्ने उद्देश्यसहित सरकारले यी संरचना बनाएको थियो तर पर्यटक घुम्न नआएपछि यी संरचना अहिले बेवारिसे जस्तै बनेका छन् । 

केही समयअघि हिरापुर मनोरञ्जन पार्क बनाइएको थियो तर उक्त पार्क बजारबाट टाढा भएकाले विकल्पमा अर्को ठाउँमा फेरि मनोरञ्जन पार्क निर्माण गर्ने तयारी भइरहेको नयाँ सहर आयोजना कार्यालय पाटनका कार्यालय प्रमुख इन्जिनियर भुपराज पौडेलले बताए । नयाँ सहर पाटनमै १७ करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको बैतडीको पाटन विमानस्थल पनि सुनसान बनेको छ ।  यो विमानास्थलमा चार वर्षदेखि उडान ठप्प छ । 

प्रदेश सरकारकै लगानीमा विभिन्न जिल्लामा मन्दिरका स्वागतद्वार, अतिथिगृह र धर्मशाला पनि बनाइएको छ । यी संरचना पनि पर्यटक घुम्न नआउँदा सुनसान जस्तै छन् । बैतडीमा मात्रै डिभिजन वन कार्यालय बैतडीमार्फत जिल्लाभर ५९ वटा मन्दिर बनाइएको छ । 

पर्यटन प्रवर्धन शीर्षकका यी संरचनामा १० करोड ५७ लाख रुपियाँ खर्च भएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्ष २०८१/८२ देखि भने वन कार्यालयमा मन्दिर बनाउने बजेट नआएको सूचना अधिकारी मदन जोशीले बताए । 

पर्यटन शीर्षक अन्तर्गत पाँच वर्षमा प्रदेशका नौ जिल्लामा ८१३ वटा मन्दिर निर्माण भएका छन् । मन्दिर निर्माणमा एक अर्ब पाँच करोड २१ लाख रुपियाँ विनियोजन भएको प्रदेश सरकारको तथ्याङ्क छ । सो रकममध्ये ८२ करोड खर्च भइसकेको छ । चालु आवमा २३ करोड २१ लाख रुपियाँ खर्च गर्ने लक्ष्य राखिएको छ ।

प्रदेशको मात्रै होइन, सङ्घीय सरकारमातहतको नयाँ सहर आयोजना पाटनले दुई करोड रुपियाँ खर्च गरेर निर्माण गरेको हिरापुर मनोरञ्जन पार्क पनि आन्तरिक तथा बाह्य पर्यटक घुम्न नआएपछि सुनसान बनेको छ ।    

पर्यटकीय क्षेत्रको विकासको उद्देश्यसहित प्रदेश सरकारले आव २०७६/७७ मा तीन सय वटा मन्दिरका योजनामा १६ करोड, आव २०७७/७८ मा २७० योजनामा २४ करोड, आव २०७८/७९ मा २५० योजनामा १९ करोड र आव २०७९/८० मा २९४ योजनामा २३ करोड २१ लाख रुपियाँ विनियोजन भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क छ ।

प्रदेश सरकारले यहाँको पर्यटकीय विकासका लागि १० बर्से गुरुयोजना बनाएर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट अधिकांश रकम खर्च गर्ने गरेको छ । 

गुरुयोजनाका पाँच वर्ष मन्दिर निर्माण गर्नमै सकिएपछि यो वर्षबाट मन्दिरका योजना नबनाउने प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताए । प्रदेश सरकारले पर्यटक घुमाउने नाममा मन्दिरको मौलिकता मासेर सिमेन्ट र कङ्क्रिट प्रयोग गरी बजेट सक्ने काम गरेको नेपाल टुर एन्ड ट्राभल एसोसिएसन धनगढीका अध्यक्ष मायाप्रकाश भट्टले गुनासो गरे ।  

“प्रदेश सरकारले मन्दिर र पर्यटकीय क्षेत्र छुट्याउन सकेको छैन । गाउँ गाउँमा मन्दिरका योजना बाँडेर पर्यटकीय क्षेत्र भन्दै हिँडेका छन्,” उनले भने, “प्रदेशमा एउटा अन्तर्राष्ट्रियस्तरको विमानस्थल छैन । खप्तडमा गतिलो सडक र होटेल सञ्चालन हुन सकेको छैन ।” सुदूरपश्चिममा निजी क्षेत्रको पहलमा वर्षभर बढीमा २० जना पर्यटक आउने गरे पनि प्रदेश सरकारले निर्माण गरेका संरचना हेर्न पर्यटक आएको कसैसँग तथ्याङ्क नरहेको उनको भनाइ छ । “सिमेन्टका गेट हेर्न को आउँछ ?” उनको प्रश्न छ ।  

निजी क्षेत्रको अगुवाइमा प्रदेशको कैलाली र कञ्चनपुरमा केही भारतीय पर्यटक आउने गरे पनि सीमानाका पर्यटकमैत्री नभएको कञ्चनपुरका होटेल तथा पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए । निजी क्षेत्रको अगुवाइमा सञ्चालित होटेल तथा पर्यटकीय क्षेत्रको भ्रमणका लागि प्रदेश सरकारले कुनै सहयोग नगरेको उनको गुनासो छ । 

मुख्य संस्कृति ओझेलमा

सुदूरपश्चिममा पर्यटकीय हिसाबले मुख्य तीन वटा संस्कृतिमध्ये कैलाली र कञ्चनपुरमा रानाथारू संस्कृति, पहाडी क्षेत्रमा देउडा, छलिया, फाग, सगुन, स्लेट र ढुङ्गाका मौलिक मन्दिर, धुमारी र भडाहा संस्कृति प्रख्यात छ । तेस्रो हिमाली जिल्ला दार्चुलामा व्यासी समुदायको आफ्नै भाषा, संस्कृति र वेशभूषा रहेको छ । यद्यपि यी तीन वटै संस्कृति झल्किने गरी प्रदेशस्तरीय सङ्ग्रहालय निर्माण हुन सकेको छैन ।

प्रदेशका तीन वटा मुख्य संस्कृति झल्किने किसिमको सामूहिक सङ्ग्रहालय निर्माण गर्न सके पर्यटक आकर्षित हुने सामाजिक अगुवा मायाप्रकाश भट्टले बताए । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्