एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन कम्बोडियामा सुरु
कम्बोडिया, मंसिर ६ । एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औं साधारण सभा बिहीबारबाट कम्बोडियाको राजधानी नोम पेन्हमा सुरु भएको छ। सम्मेलनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन र युरोपका राजनीतिक पार्टीका प्रतिनिधि सहभागी छन्।
यस सभामा चारवटा समूहमा वक्ताले लिखित मन्तव्य राख्ने कार्यक्रम छ। शान्ति र मेलमिलापको खोजी, शान्ति र मेलमिलाप प्रवर्द्धनको लागि साँस्कृतिक विविधता, शान्ति कायम गर्नका लागि डिजिटल सन्दर्भमा मिथ्या समाचार (फेक न्युज) सँगको लडाइँ, शान्ति र मेलमिलाप कायम गर्न राजनीतिक दलको भूमिका विषयमा प्रतिनिधिहरुले आआफ्ना गहन विचार राख्ने छन्। अन्तिममा सम्मेलनको निष्कर्ष सार्वजनिक गरिने जानकारी आइक्यापको सचिवालयले दिएको छ।
सम्मेलनमा नेपालका आठ दलका १३ जना नेता सहभागी छन्। सभामा नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री एवम परराष्ट्र मन्त्री सुजाता कोइराला र पूर्व उपप्रधानमन्त्री एवम परराष्ट्र मन्त्री रघुवीर महासेठ सहभागी छन् । महासेठ एमाले परराष्ट्र विभागका प्रमुख तथा प्रतिनिधि सभाका सदस्य पनि हुन भने एमालेबाट सहभागी डा. राजन भट्टराई प्रधानमन्त्रीका पूर्व परराष्ट्र मामिला सल्लाहकार हुन । नेपाली कांग्रेसका नेता कोइराला र डा. भट्टराई आइक्यापको स्थायी समितिको सदस्यसमेत हुन । कार्यक्रममा विभिन्न देशका १५ जना पत्रकारसहित सम्मेलनमा २५३ जना सहभागी रहेको जानकारी आइक्याप सचिवालयले दिएको छ।