दिल्लीको प्रदूषण रोक्न कृत्रिम वर्षा, के हो ‘क्लाउड सिडिङ’ ? नेपाललाई असर गर्ला?
काठमाडौँ,मंसिर ५ । मंगलबार भारतको केन्द्रशासित इलाका दिल्लीका वातावरण मन्त्री गोपाल रायले राजधानी शहरमा वायु प्रदूषण नियन्त्रण गर्नका लागि कृत्रिम वर्षा (क्लाउड सिडिङ) गर्ने सुविधा उपलब्ध गराउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरे ।
नेपालको पश्चिमी सीमाबाट केवल ३०० किलोमिटरको दूरीमा पर्ने भारतको राजधानी दिल्ली अहिले भयावह वायु प्रदूषणको चपेटामा छ । भारतको यही प्रदूषण नेपालमा पनि आयात भइरहेको भनेर अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)ले वर्षौंदेखि सचेत गराउँदै आएको छ ।
यही प्रदूषणलाई अल्पकालिन रुपमा नियन्त्रण गर्ने एक औजारको रुपमा कृत्रिम वर्षालाई अघि सार्न खोजिएको छ । दिल्लीमा एयर क्वालिटी इन्डेक्स ४५० भन्दा माथि पुगेको छ, यो अति नै हानिकारक अवस्था हो । काठमाडौँमा यो सूचक अहिले १२० हाराहारी रहेको छ ।
क्लाउड सिडिङ भनेको मौसमी प्रणालीमा मानवीय प्रयासद्वार छेडखानी गरी वर्षा गर्न उत्प्रेरित गर्ने एक विधी हो । यसका लागि बादलमा सिल्भर आयोडाइड, पोटासियम आयोडाइड वा ड्राइ आईस (ठोस रुपमा रहेको कार्बनडाइअक्साइड) जस्ता पदार्थलाई फैलाइन्छ ।
यसो गर्दा धुलोका कणहरुमा पानीका थोपा जम्मा भएर वर्षा गराउने संभावना बढ्छ । बादलमा यस्ता पदार्थलाई पठाउन विमान वा जमीनमा आधारित जेनेरेटरको प्रयोग गरिन्छ । कतिपय अवस्थामा रकेटको पनि उपयोग हुन्छ ।
तर वायु प्रदूषणका लागि यस वर्षाले हावामा भएको विषाक्त धुलोका कणहरु धुनमा मद्दत गर्छ । वर्षातको पानीले हावामा रहेको फोहोर धुलोलाई पानीका थोपासँगै धर्तिको सतहमा झारिदिन्छ र यसले वायुको गुणस्तरमा सुधार हुन्छ ।
हाम्रा पुराणहरुमा ब्यापक रुपमा यस प्रकारले नियोजित वर्षा गराइएका उदाहरण ग्रस्तुत गरिएका छन् । आधुनिक युगमा पनि दोस्रो विश्वयुद्ध शुरु हुनु अघि नै अमेरिकाले ‘ड्राइ आइस’को सहाराले यसलाई सैद्धान्तिक रुपमा सावित गरेको थियो ।
सन् २००८ मा चीनले बेइजिङ ओलम्पिकमा यो प्रविधिको प्रयोग गरेको थियो । पछिल्ला वर्षमा संयुक्त अरब इमिरेट्सले यस प्रविधिमा भारी लगानी गरेको छ । अमेरिकाले कोलोराडो र क्यालिफोर्नियाजस्ता राज्यमा पानीको आपूर्ति सहज बनाउन ब्यापक रुपमा यस प्रविधिको प्रयोग गरिरहेको छ ।
अहिले भारतले खासगरी सुख्खा प्रभावित इलाकामा कृत्रिम वर्षा गराउने भनेर ‘वर्षाधारी’जस्ता योजना अघि सारेको छ ।
यस प्रविधिलाई आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङले अझ सुदृढ र उन्नत बनाउने आशा गरिएको छ । अधिक कुशल ‘क्लाउड सिडिङ’का निम्ति धेरै देशले ‘नानो प्रविधि’मा काम गरिरहेका छन् ।
यो प्रविधि वायु प्रदूषण नियन्त्रणमात्रै होइन, मूल रुपमा जलवायु परिवर्तनका कारण भइरहेको खँडेरीसँग जुध्न ज्यादातर उपयोगी हुने विस्वास गरिएको छ ।