दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस



काठमाडौं,मंसिर ५ । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गरिएको हो ।

सीआईबीले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने छ ।

प्रसाईले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्