राजस्वमा भएन ठूलो सुधार, बाढीपहिरोले भन्सारतर्फको राजस्व प्रभावित



काठमाडौं,मंसिर ५। चालू आर्थिक वर्ष (आव)मा राजस्व प्राप्तितर्फ महत्त्वाकांक्षी लक्ष्य राखेको सरकारले अपेक्षित रूपमा राजस्व उठाउन सकेको छैन । चालू आवको पहिलो चौमासिक अवधिमा आन्तरिक राजस्वमा केही सुधार देखिए पनि भन्सारतर्फ उल्लेख्य सुधार नभएको सार्वजनिक गरिएका तथ्यांकले देखाएका छन् । 

आन्तरिक राजस्व विभागले कात्तिकसम्ममा १ खर्ब ४० अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम आव २०८०/८१ को सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो । अर्थ मन्त्रालयका अनुसार विभागले गत आवको कात्तिक मसान्तसम्म १ खर्ब २७ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेको थियो ।

मन्त्रालयका अनुसार विभागले लक्ष्यको ७७ दशमलव ८४ प्रतिशत मात्र राजस्व उठाएको छ । चालू आवको चार महीनामा विभागले १ खर्ब ८० अर्ब १५ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । आन्तरिक राजस्वतर्फ मूल्य अभिवृद्धि कर ४१ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको छ । यस अवधिमा उत्पादन, विक्री र सेवामा ५१ अर्ब १ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य थियो ।

अन्त:शुल्कतर्फ विभागले ३० अर्ब ५५ करोड रुपैयाँ उठाएको छ । यस अवधिमा ४२ अर्ब १० करोड अन्तशूल्क उठाउने लक्ष्य थियो । आयकर समेत लक्ष्य अनुसार उठ्न सकेन । आयकर ६६ अर्ब ९३ करोड उठेको छ । यस अवधिमा ८६ अर्ब २७ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य थियो ।

यता, भन्सार विभागको राजस्व संकलनको प्रगति आन्तरिक राजस्व विभागको भन्दा कम छ । विभागले कात्तिकसम्ममा १ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ राजस्व उठाएको छ । कात्तिकसम्म विभागले पाएको लक्ष्य १ खर्ब ८८ अर्ब ५६ करोड रुपैयाँ हो । विभागले गत आवको तुलनामा १० दशमलव ९० प्रतिशत बढी राजस्व उठाएको छ । यद्यपि चालू आवको चार महीनाको लक्ष्यको ७४ दशमलव ६० प्रतिशत मात्र राजस्व उठेको छ ।

भन्सार राजस्वतर्फ भन्सार महसुल ६७ अर्ब ६० करोड रुपैयाँ उठेको छ । यस अवधिमा विभागले ९४ अर्ब ७२ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखेको थियो । मूल्य अभिवृद्धि करतर्फ ५७ अर्ब ३० करोड मात्र संकलन भएको छ । लक्ष्य ७४ अर्ब २६ करोड रुपैयाँ थियो । अन्त:शुल्कतर्फ १५ अर्ब ७५ करोड रुपैयाँ मात्र उठेको छ । लक्ष्य भने १० अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।भन्सार विभागका निर्देशक मुक्तिप्रसाद श्रेष्ठका अनुसार भन्सार राजस्वतर्फ आगामी दिनमा बढी राजस्व उठ्ने आधार छन् । आगामी महीनामा निर्माण कार्य बढ्ने र उपकरणको आयात बढ्न सक्ने भएकाले राजस्व बढ्नेछ । भन्सारतर्फको चोरीपैठारीमा समेत कडाइ गरिएकाले राजस्व बढ्ने उनको भनाइ छ । रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएकाले चालू आवको पहिलो चार महीनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको भन्सारका उच्च अधिकारी बताउँछन् ।

भन्सार विभागका निर्देशक मुक्तिप्रसाद श्रेष्ठका अनुसार भन्सार राजस्वतर्फ आगामी दिनमा बढी राजस्व उठ्ने आधार छन् । आगामी महीनामा निर्माण कार्य बढ्ने र उपकरणको आयात बढ्न सक्ने भएकाले राजस्व बढ्नेछ । भन्सारतर्फको चोरीपैठारीमा समेत कडाइ गरिएकाले राजस्व बढ्ने उनको भनाइ छ । रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएकाले चालू आवको पहिलो चार महीनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको भन्सारका उच्च अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्