दानाको सट्टा झिँगा प्रयोग गरेर आयातमा परनिर्भरता हटाउने प्रयास
काठमाडौं,मंसिर ४ । झन्डै एक खर्ब ६० अर्बको नेपाली पोल्ट्री उद्योग दाना उत्पादनका लगि मकै र सोयाबिनको आयातमा निर्भर छ । नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरीका अनुसार नेपालमा बर्सेनि अर्बौंको मकै र सोयाबिन आयात हुने गरेको छ । नेपाल सोयाबिनका लागि भने पूर्णरूपमा भारत, अमेरिका वा ब्राजिलमा निर्भर छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालमा करीब १५ अर्बको मकै र ६ अर्बको सोयाबिन आयात भएको थियो ।
‘यो उद्योगको लागि सात लाख मेट्रिक टन मकै आवश्यक पर्ने गर्छ । तर नेपालबाट करीब एक लाख ५० हजार मेट्रिक टन मात्रै आपूर्ति हुन्छ,’ पुरीले भने। पोल्ट्री फिडमा सामान्यतया ५० प्रतिशत मकै र ३० प्रतिशत सोयाबिनको पिना प्रयोग हुने गर्छ । यसमा गहुँ, जौ, टुटेको चामल र विभिन्न वनस्पति तेल लगायत मिसाइन्छ ।
पुरीका अनुसार पछिल्लो एक वर्षमा नेपालमा दानाको मूल्यमा खासै परिवर्तन नआए पनि भारतमा मकैको मूल्य बढेसँगै महँगो हुने सम्भावना छ । गत जुन महिनामा द टाइम्स अफ इन्डियाले इथानोल उत्पादनका लागि मकैको प्रयोग बढेपछि भारतमा मकैको मूल्य बढ्न थालेको समाचार प्रकाशित गरेको थियो ।हाल नेपालमा ५० केजीको बी–० पोल्ट्री फिडको मूल्य रु चार हजार १०० पर्छ । त्यस्तै बी–१, बी–२ र बी–३ फिडको मूल्य क्रमशः ४ हजार, ३ हजार ९०० र रु ३ हजार ८५० रहेको छ । बी–० पोल्ट्री फिड पहिलो १२ दिन, बी–१ १२ देखि २८ दिन, बी–२ २८ देखि ४२ दिन र बी–३ ४२ दिनभन्दा बढी उमेरका कुखुराका लागि प्रयोग गरिन्छ । चल्लाहरूलाई पहिलो चरणमा अधिक प्रोटिनको आवश्यकता पर्दछ।
हाल नेपालमा ५० केजीको बी–० पोल्ट्री फिडको मूल्य रु चार हजार १०० पर्छ । त्यस्तै बी–१, बी–२ र बी–३ फिडको मूल्य क्रमशः ४ हजार, ३ हजार ९०० र रु ३ हजार ८५० रहेको छ । बी–० पोल्ट्री फिड पहिलो १२ दिन, बी–१ १२ देखि २८ दिन, बी–२ २८ देखि ४२ दिन र बी–३ ४२ दिनभन्दा बढी उमेरका कुखुराका लागि प्रयोग गरिन्छ । चल्लाहरूलाई पहिलो चरणमा अधिक प्रोटिनको आवश्यकता पर्दछ।
एक वर्ष अघिसम्म भारतबाट प्रतिकेजी मकै आयात गर्दा ३५ रुपैयाँ लाग्ने गरेकोमा अहिले बढेर प्रतिकिलो ५२ रुपैयाँ पुगेको बताउँदै पुरीले भने, ‘नेपाल सरकारले ५ प्रतिशत आयात शुल्क लगाउने गरेको छ । सरकारले सोयाबिन आयातमा ९ प्रतिशत कृषि सुधार शुल्क लगाएको छ,’ उनले भने। यसअघि यी दुवै वस्तुको आयातमा समान १.६ प्रतिशत भन्सार महसुल लाग्दै आएको थियो ।
नेपालको कृषिक्षेत्रमा स्टार्टअपको रूपमा उदाएको एग्री डाइरेक्ट ग्लोबलका मार्केटिङका प्रमुख समेत रहेका सुवास श्रेष्ठका अनुसार उनीहरू वातावरणमैत्री फिडको विकासमा लागेका छन् । गत बुधवार क्लाइमेट च्याम्पियन कम्पिटिसनमा सहभागी उनले आफ्नो इनोभेसन प्रस्तुत गर्दै यसबारे विस्तृत जानकारी गराएका थिए ।
उनीहरूले विकास गर्न लागेको प्रणालीले पोल्ट्री फिड उत्पादन गर्न चाहिने कच्चा पदार्थको आयातमा नेपालको परनिर्भरता हटाउने छ । उक्त प्रणालीले अव्यवस्थित जैविक फोहोरको प्रयोग गरेर यसबाट हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउँछ ।
‘कुनै पनि दानाका लागि सोयाबिन सबैभन्दा आवश्यक तत्व हो,’ श्रेष्ठले भने, ‘तर एक किलो सोयाबिन उत्पादन गर्न दुई हजार लिटर पानी चाहिन्छ र यस प्रक्रियामा चार किलो कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ ।’ स्टार्टअपले फिड विकल्पको रूपमा ब्ल्याक सोल्जर फ्लाई (हर्मेटिया इलुसेन्स- एक प्रकारको झिँगा) हुर्काएर दाना उत्पादनलाई सहज बनाउने लक्ष्य राखेको छ। ‘यी कीराहरू प्रोटिनको प्राकृतिक स्रोत हुन्,’ श्रेष्ठले भने।
उनका अनुसार यस झिँगाको लार्भा बढाउन एक स्वचालित बाकस तयार पारिएको छ । स्थानीय समुदायबाट संकलन गरिएको जैविक फोहोरलाई १० देखि १५ दिनसम्म उक्त बाकसभित्र राखिएको लार्भालाई खुवाइन्छ । त्यसपछि ती लार्भा फिडको रूपमा प्रयोग हुन तयार हुन्छन् ।
यो प्रोजेक्टमा ६ सदस्यीय टोलीले निरन्तर काम गरिरहेको छ । टोलीको नेतृत्व गरिरहेका अजय शाहीले यो अवधारणालाई साकार पार्न सबैभन्दा कठिन चुनौती बाकसको विकास गर्नु रहेको बताए । ‘थर्मोस्टेटबाहेक हामीले देशभित्र उपलब्ध सामग्रीलाई बाकस बनाउन प्रयोग गरेका छौं,’ शाहीले भने, ‘यो नेपालको जुनसुकै ठाउँमा पनि प्रयोग गर्न सकिन्छ ।’
ललितपुरको खोकनामा पोल्ट्री तथा ह्याचरी व्यवसायमा संलग्न शाहीले सिन्धुलीस्थित कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्टमा ब्याचलर अफ साइन्स इन एग्रिकल्चरमा भर्ना हुनुअघि नै ब्ल्याक सोल्जर फ्लाईबारे आफूलाई राम्रोसँग थाहा भएको बताए ।
‘मलाइ कीराफट्याङ्ग्राका बारेमा जान्न मन लाग्छ, यसमा चासो राख्छु । पहिलो पटक युट्युबमार्फत यस किराबारे थाहा पाएको थिएँ,’ उनले भने, ‘कुखुराको दानाको मूल्य रु २ हजार ९०० देखि रु ४ हजार १०० सम्म पुगेको मैले देखेको छु । किसानले ब्ल्याक सोल्जर फ्लाई लार्भाको प्रयोग गर्दा फाइदा पुग्छ भन्ने मैले विश्वास गरेको छु ।’
उनले करीब चार वर्षअघि लार्भा हुर्काउने प्रयास गरेका थिए । तर, असफल भए । तर, स्नातक तहमा कीराबारे अध्ययन गर्नुपर्ने भएपछि शाहीले सहपाठी सुवाससँग मिलेर अन्तिम पटक यो विचारलाई मूर्तरूप दिने सोच बनाए । उनीहरूले राष्ट्रिय आविष्कार केन्द्रबाट कालो सिपाही फ्लाईको लार्भा ल्याए र सिन्धुलीमा काम गर्न थाले । यसपटक भने सफल भए । तर, ललितपुरमा भने लार्भा हुर्काउन सकेनन् । शाहीले भने, ‘हामीले तापक्रम र आद्रता नियन्त्रण गर्न निकै संघर्ष गर्नुपर्यो ।’
एउटा ब्ल्याक सोल्जर फ्लाईले एकपटकमा ४५० देखि ५०० ओटासम्म अण्डा पार्छ, जसबाट बच्चा निस्कन ४ देखि ५ दिन लाग्छ । स-साना लार्भाहरूलाई जैविक फोहोर खुवाइन्छ। १० देखि १५ दिनमा लार्भा आहारमा रूपान्तरण गर्न तयार हुन्छन्।
यसलाई अण्डा पार्नका लागि थप १५ दिनसम्म उचित वातावरणमा राख्न सकिन्छ । ‘अहिले अण्डा उत्पादनका लागि १ प्रतिशत मात्रै प्रयोग गर्छौं, बाँकी दानाका लागि जान्छ,’ शाहीले भने। शाहीले ब्ल्याक सोल्जर फ्लाई फिड सोयाबिन दानाभन्दा ३३ प्रतिशत सस्तो भएको र कुखुरालाई २५ प्रतिशत छिटो हुर्काउन सहयोग गर्ने बताए । शाहीका अनुसार यो तथ्यांक स्थानीय ४० किसान र दाना सप्लायर्समा गरिएको सर्वेक्षणमा आधारित छ ।
हाल नेपालमा सोयाबिन दानाको मूल्य प्रतिकिलो रु ९० को हाराहारीमा छ । तर उनीहरूले स्थानीय पोल्ट्री फार्मलाई ब्ल्याक सोल्जर फ्लाई लार्भा प्रतिकिलो रु ६० मा विक्री गर्दै आएको बताए । ‘प्रतिकेजी ८ रुपैयाँ नाफा लिएर विक्री गर्दै आएका छौं,’ शाहीले भने, ‘हाम्रो उत्पादनले प्रदान गर्ने फाइदा हेर्ने हो भने यसको मूल्य अझै बढाउने ठाउँ छ।’
हाल एग्री डाइरेक्ट ग्लोबलले दैनिक ४ देखि ५ किलो ब्ल्याक सोल्जर फ्लाई लार्भा उत्पादन गर्दै आएको छ । गत बुधवारसम्म स्टार्टअपले २० टनभन्दा बढी जैविक फोहोर प्रशोधन गरेको तथा एक हजार २०० किलो ब्ल्याक सोल्जर फ्लाई लार्भा उत्पादन गरि स्थानीय पोल्ट्री फार्ममा विक्री गरी ७५ हजार आम्दानी गरेको छ ।
स्टार्टअपले हालसम्म पूर्वाधार निर्माण, प्रविधि, अनुसन्धान तथा विकास र उत्पादन विकासमा रु एक लाख ६० हजारभन्दा बढी लगानी गरिसकेको छ । ‘हामीले अहिलेसम्म सानो स्तरमा सञ्चालन गर्दै आएकाले हाम्रो विस्तारको चरणमा पक्कै पनि थप चुनौतीहरू हुनेछन्,’ उनीहरू भन्छन्।
स्थानीय स्तरमा उपलब्ध ब्ल्याक सोल्जर फ्लाईको प्रजातिलाई दाता प्रयोजनका लागि पालन गर्न सकिने भएपनि हाल प्रयोग भइरहेको प्रजाति आयातित प्रजाति हो। ‘यसले आगामी दिनमा हाम्रा लागि चुनौती खडा गर्न सक्छ,’ शाहीले भने। उनीहरूको मुख्य लक्ष्य पोल्ट्री क्षेत्र हो तर आगामी दिनमा व्यावसायिक पोल्ट्री, माछा र बङ्गुर फार्मका साथै पाल्तु जनावरहरूको दाना उद्योगमा समेत आपूर्ति गर्ने लक्ष्य राखेका छन्।
एग्री डाइरेक्ट ग्लोबलका रिसर्च एसोसिएट मानस्वी लामिछानेका अनुसार ब्ल्याक सोल्जर फ्लाई फार्मिङले लागत घटाउने मात्र होइन यसले आर्थिक सामाजिक क्षेत्रमा पनि फाइदा गर्छ ।
‘वातावरणीय हिसाबले पनि यो फाइदाजनक छ । हामीले ल्यान्डफिलबाट निस्कने फोहोरलाई डाइभर्ट गरेर सोयाबिन प्रोटिन र रासायनिक मललाई प्रतिस्थापन गर्छौं । प्रतिकिलो ब्ल्याक सोल्जर फ्लाई उत्पादन गर्दा १० किलो बराबर कार्बन डाइअक्साइड उत्पादन घटाउँछौं,’ लामिछानेले भनिन् ‘जुन ६ महीनामा एउटा रूखले सोस्ने कार्बन डाइअक्साइडको मात्रा बराबर हो।’
‘उत्पादन लागत र विदेशी आयातमा निर्भरता घटाएर हामीले किसानलाई आर्थिक उत्थानशीलतातर्फ अघि बढाइरहेका छौं,’ उनले थपिन्। टोलीमा शाही, श्रेष्ठ र लामिछानेका साथै बायोटेक्नोलोजिस्ट सुमित्रा तामाङ, केमिकल इञ्जिनियर चिरञ्जीवी जोशी, प्रोडक्शन म्यानेजर सुमित्रा ढुंगेल रहेका छन् ।
नेपाल दाना उद्योग व्यवसायी संघका पुरीले एग्री डाइरेक्ट ग्लोबलले विकास गरेको फिडको विकल्प ठूलो स्तरमा लागू गर्न नसकिने बताए । मकै र भटमासको नियमित आपूर्तिका लागि मुलुकभर रहेका ११३ ओटा दाना उत्पादन केन्द्रलाई सम्बन्धित निकायले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।
‘कर नीतिले भारत र नेपालको मूल्यमा भिन्नता सिर्जना गरेको छ । खुला सीमाबाट अवैध आयातलाई बढावा दिएको छ,’ पुरीले भने’ दुई लाख व्यक्तिलाई प्रत्यक्ष र पाँच लाख अप्रत्यक्ष रूपमा रोजगारी र कुनै बेला कुल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान गर्ने पोल्ट्री उद्योग अहिले खस्कँदो अवस्थामा छ।’
‘हामीले मकै र भटमासको दानामा लगाइएको आयात शुल्क हटाउन वा उत्पादन बढाउन पटक–पटक सरकारसँग आग्रह गरेका छौं, तर कुनै उपलब्धि भएको छैन,’ पुरीले भने।
एग्री डाइरेक्ट ग्लोबलले आगामी ६ वर्षमा २ करोड रुपैयाँ आम्दानी गर्ने र २३ लाख रुपैयाँ नाफा कमाउने लक्ष्य राखेको छ । यसले आविष्कारको संरक्षण गर्न र सहज प्रविधि स्थानान्तरण सुनिश्चित गर्न बौद्धिक सम्पत्ति र प्रविधिको बारेमा विशेषज्ञहरूको सहयोग चाहेको छ ।
व्यवसायलाई विस्तार गर्न र लक्षित लक्ष्य हासिल गर्न रु ५० लाख को लगानी चाहिने उनीहरूले बताए । लामिछानेले भनिन्, ‘हामीले दिगो व्यवसायका रुपमा प्रमाणित गरिसकेका छौं, त्यसैले यो लगानी गर्न लायक छ कि छैन भनेर सुनिश्चित गर्न सक्छौं ।’