किर्ते गरी २ अर्ब ३० करोड ऋण लिएको अभियोगमा सहकारी सञ्चालक चौलागाईंसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौं,मंसिर ३ । देउराली बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समेत रहेका रविन्द्र चौलागाईंसहित ४ जनाविरुद्ध सरकारी कागजात किर्ते गरि ऋण लिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यलयले जिल्ला अदालत ललितपुरमा बैंकिङ कसूर मुद्दामा अभियोगपत्र दर्ता गरेको छ ।
ब्युरोले चौलागाईंसहित उनकी पत्नी पूजा खत्री, राजेन्द्र खत्री र मनोज भण्डारीलाई आन्तरिक राजस्व कार्यलयको कर चुक्ता पत्रहरू किर्ते गरि तत्कालीन सेन्चुरी बैंकबाट २ अर्ब ३० करोड ८१ लाख ऋण लिएको भन्दै मुद्दा दायर गरेको हो ।
अभियोगपत्रमा प्रतिवादी रबिन्द्र चौलागाईं समेतका व्यक्तिहरूले आपराधिक मनसायको साथ नियोजितरूपमा प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकबाट जारी गरेको निर्देशिकाविपरित काम गरेको तथा पुजा ट्रेडिङ एण्ड मार्केटिङ प्रा.लि., थ्री ब्रदर्स मार्केटिङ प्रा.लि र पुजा मार्केटिङ प्रा.लि.का कर चुक्ता पत्रहरू किर्ते गरी गैरकानूनीरूपमा धितोले खाम्नेभन्दा अत्यधिक बढि रकम ऋण लिएको उल्लेख छ ।
‘चौलागाईंसमेत सञ्चालक रहेको पुजा ग्रुप अन्तर्गतका कम्पनीहरू पुजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्रि ब्रदर्स मार्केटिङ, पुजा मार्केटिङ, अन्नपूर्ण डिस्टिलरी प्रा.लि. समेतको कम्पनीहरूको नाममा जम्मा रकम रु. २ अर्ब ३० करोड ८१ लाख कर्जा स्वीकृत र प्रवाह गरेको देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ ।
हाल रविन्द्र चौलागाईं र राजेन्द्र खत्री ठगी मुद्दामा नख्खु कारागारमा थुनामा छन् । प्रहरीले कारागारबाट झिकाइ बयान समेतका कार्यहरू गराउने व्यवस्था हुन र फरार प्रतिवादीहरू पुजा खत्री र मनोज भण्डारीको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ (२) (क) बमोजिम पक्राउ पूर्जी माग गरेको छ ।