हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
काठमाडौं,मंसिर ३ । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको हो ।
पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ । गत बिहीवार थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करीब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएको थियो । केही दिनयता गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा अन्तरराष्ट्रिय उडान प्रभावित भइरहेका छन् ।
बिहानका लागि निर्धारित उडान ‘डिले’ हुने गरेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भइरहेको छ । बिहानका उडान डिले भइरहेका छन् । केही दिनयता बिहान ११ र १२ बजेपछि मात्रै आकाश राम्ररी खुलेर उडान तथा अवतरण भइरहेको उनले बताए ।
काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि केही दिनयता बिहान हुस्सु लाग्ने गरेकाले उडान सामान्य प्रभावित भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडो समय भएकाले पनि बिहानको समय हुस्सु बढिरहेको छ । केही दिनअघिदेखि बिहान समस्या रहे पनि मध्याह्न आकाश खुल्दै जानेक्रम चलिरहेको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बिहान हुस्सु र कतिपय स्थानमा कुहिरो लागेकाले भिजिबिलिटी कमजोर भइरहेको बताए । उनका अनुसार देशका पूर्वी र मध्य तराई क्षेत्रमा बाक्लो हुस्सु तथा कतिपय स्थानमा कुहिरो लाग्ने गरेकाले हवाई उडानमा समस्या भइरहेको छ । तुलनात्मक रूपमा पश्चिम तराईका विमानस्थलमा यो समस्या कम छ । बिहान चाडै आकाश खुल्ने गरेको छ ।
मौसमविद् अधिकारीका अनुसार विश्वव्यापी मापदण्डअनुसार एक किलोमिटरभन्दा कम भिजिबिलिटी भएको अवस्थालाई कुहिरो भनिन्छ । एकदेखि पाँच किलोमिटरसम्मको पारदर्शितालाई हुस्सु भन्ने गरिएको छ । अहिले तराई क्षेत्रमा हुस्सु र कुहिरोले बढी समस्या भइरहेको छ । तराईका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
‘अहिले पहाडी र हिमाली क्षेत्रमा पारदर्शिता राम्रो देखिन्छ । नौदेखि १० किलोमिटर पारदर्शिता छ, तर तराईमा हुस्सु, कुहिरोले लाग्दा बढी समस्या देखिएको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ,’ मौसमविद् अधिकारीले भने । तत्कालै वर्षाको सम्भावना नरहेको र लामो समयदेखि वायुमण्डल प्रदूषण भएका कारण पनि हुस्सु र तुँवालो लाग्ने गरेको उनले बताए ।
पछिल्ला दिनमा आन्तरिक र अन्तरराष्ट्रिय हवाई सेवा कम्पनीले उडान प्रभावित बनिरहेको यात्रुलाई विभिन्न माध्यमबाट जानकारी गराइरहेका छन् । विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन सकिरहेको छैन । काठमाडौं बाहिरका विमानस्थल समयमै खुल्न नसक्दा काठमाडौं विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौंको भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडानमा समस्या नरहे पनि अन्य विमानस्थलको उडान प्रभावित भइरहेको छ ।
भैरहवा र सिमरा विमानस्थलमा उडान भर्खरै खुलेको छ । आज बिहान झापाको चन्द्रगढी विमानस्थलबाहेक तराई क्षेत्रका सबैजसो विमानस्थल बन्द रहेको र अहिले भिजिबिलिटीमा सुधार आएपछि क्रमशः विराटनगर, जनकपुर, सिमरा, भैरहवा विमानस्थल खुलेको प्रवक्ता शेर्पाले जानकारी दिए । उनका अनुसार सबैभन्दा ढिला खुलेका भैरहवा र सिमरा विमानस्थल हो ।
गौतमबुद्ध विमानस्थल आज मध्याह्न १२ः५० मा खुलेको छ । काठमाडौं बाहिरका गन्तव्यमा उडान डिले भइरहेका छन् । विमानस्थल बिहान ढिला खुलेकाले उडानहरू डिले भइरहेका हुन् । ‘उडान नियमित भइरहेका छन् तर निर्धारित समयमा हुन सकेका छैनन्,’ प्रवक्ता शेर्पाले भने ।
काठमाडौंमा पनि बिहानीपख हुस्सु लाग्ने गरेकाले हवाई उडान सामान्य प्रभावित बनिरहेको छ । अहिले काठमाडौंको आकाशमा भिजिबिलिटी ६ किलोमिटर छ । आइतबार बिहान ६ देखि १० बजेसम्म न्यूनतम पारदर्शिता तीन हजार ५०५ सय मिटर थियो । बिहान ६ देखि १० बजेको समयमा हुस्सु थियो ।
देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाउँदै महाशाखाले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । रासस