चीनमा बन्द भयो नेटाको फ्याक्ट्री, किन टाट पल्टिँदै छन् ईभी निर्माता कम्पनी ?



काठमाडौँ,मंसिर २ । नेपालमा लोकप्रिय भएका नविन ऊर्जामा आधारिक सवारी ब्राण्डहरुमध्येको एक नेटाको फ्याक्ट्रि बन्द भएको छ । पूर्वी चीनको तटीय प्रान्त चजिआङमा रहेको फ्याक्ट्रिबाट तत्कालका लागि उत्पादन बन्द गरिएको कार निर्माता होचोङले मोटर्सले जनाएको छ । यो उद्योगले वार्षिक २ लाख कार उत्पादन क्षमता राख्थ्यो ।

उक्त विद्युतीय सवारी (ईभी) ब्राण्डको उत्पादन रोक्नुको कारण उसको विक्रीमा आएको भारी गिरावट हो । नेटा ब्राण्डका सीईओ चाङ योङले वीबो र टिकटकमा आफ्ना ब्लग अपडेट गर्न समेत बन्द गरिदिएका छन् । कम्पनीले आफ्ना कर्मचारीको तलब सुविधामा पनि भारी कटौति गरेको छ ।

ठ्याक्कै १० वर्षअघि स्थापना भएको होचोङ मोटर्सले नेटा भी जस्तो सस्तो गाडी उत्पादनगरेको थियो र यो बाँकी विश्वमा जस्तै नेपालमा पनि रुचाइएको थियो । यही रणनीतिका कारण सन् २०२२ मा यो ब्राण्डले ली अटो, निओ, सिआओ फङ चीच (एक्स–पेङ) जस्ता ब्राण्डलाई पछि पार्दै १ लाख ५० हजार कार विक्री गरेको थियो ।

उक्त सफलतापछि कम्पनीले त्योभन्दा केही महँगो मूल्य र उन्नत प्रविधि भएका गाडी उत्पादन गर्ने योजना अघि सार्यो । नेटा आया (भी २), नेटा एक्स, नेटा जीटी, नेटा एल, नेटा एस र नेटा एस हन्टिङ गरी ऊसँग अहिले ६ वटा मोडलमा गाडी तयार छन् ।

तर अब उसको विक्रीमा भारी गिरावट देखिएको छ । चीनको घरेलु बजारमा सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म कुल ५३,८५३ गाडी बेचेको छ । अक्टोबरको तथ्यांक चाहीँ सार्वजनिक गरेको छैन । यो विक्री कम्पनीको वार्षिक विक्री लक्ष्यको ३० प्रतिशतभन्दा कम हो । कारन्यूजचाइना नामक पोर्टलका अनुसार अक्टोबरमा कम्पनीले साढे ४ हजार जति कार बेचेको थियो, जुन मासिक कार विक्रीमा ४० प्रतिशत हाराहारीको गिरावद हो ।

यसपछि कम्पनीले आफ्नो मुख्य फ्याक्ट्रि नै आधा महिनाका लागि बन्द गरिदिएको छ । साथै कर्मचारीको तलब पनि उच्च दरमा कटौति गरिएको छ । उच्चपदस्थ कर्मचारीको तलब ३० प्रतिशतसम्म कटौति भएको खबरहरु आएका छन् । कर्मचारीहरुले गत महिनाकै तलब पनि समयमा दिलाउन कम्पनी असफल भएको बताएका छन् । साथै गत अक्टोबर ३१ मा कम्पनीले आफ्ना कर्मचारीलाई प्रोत्साहत गर्न भन्दै कम्पनीको ५ प्रतिशत स्वामित्व दिने घोषणा गरेको छ ।

नेटाको मातृ कम्पनी होचोङले मोटर्सले चीनभित्रकै बजारमा पनि लगातार घाटा खाँदै आएको छ । उसले सन् २०२१ मा ४ अर्ब ८४ करोड, २०२२ मा ६ अर्ब ६७ करोड र २०२३ मा ६ अर्ब ८७ करोड चिनियाँ युआन घाटा व्यहोर्नु परेको समाचारमा जनाइएको छ । सन् २०२२ मा कम्पनीको ‘ग्रस मार्जिन’ १४.९ प्रतिशतले ऋणात्मक रहेको थियो ।

हालैमात्र होचोङले मोटर्स विरुद्ध ४ करोड ४२ लाख युआन उधारो नतिरेको भन्दै कच्चापदार्थ आपूर्ति गर्ने फर्म इफोर्टले मुद्दा हालेपछि नेटाको उत्पादक कति धेरै आर्थिक समस्यामा छ भन्ने देखिएको थियो ।

ईभी बजारमा वित्तीय समस्या झेल्ने नेटा एक पछिल्लो उदाहरण मात्र हो । यस्ता थुप्रै कम्पनीले उस्तै खाले कठीन चुनौतीको सामना गर्नु परिरहेको छ । चीनमा यस्ता थुप्रै विद्युतीय सवारी र ब्याट्री बनाउने कम्पनीहरु पनि अहिले गम्भीर आर्थिक समस्या झेलिरहेका छन् । गत सातामात्रै ‘हाइ–फी’ ब्राण्डको गाडी उत्पादन गर्ने शाङ्हाईको कम्पनी ह्युमन होराइजन्स टाट पल्टिएको घोषणा भयो ।

सन् २०१९ को जुलाई अन्तिममा पहिलो गाडी बजारमा ल्याएको यो कम्पनीले गत फेब्रुअरीमा ६ महिनाका लागि भन्दै उत्पादन स्थगित गरेको थियो । चीनमा ईभी उत्पादकहरुको बजार ‘रोरल कोस्टर’जस्तै ह्वात्त माथि जाने र स्वाट्ट तल झर्ने अवस्था सिर्जना भएको छ ।

दिगो यातायातका निम्ति विश्वब्यापी संक्रमण कालमा विद्युतीय सावारी उद्योगले भोगिरहेको यो उतारचढाव निकै भयावह बन्ने बाटोमा छ । यस्ता कम्पनीहरुका लागि सबैभन्दा ठूलो चुनौती विशाल पूँजी लगानी हो । ईभी र ब्याट्रीको विकास, उत्पादन र वितरणका निम्ति ज्यादै ठूलो पैसा खर्च हुन्छ । त्यसमा पनि अनुसन्धान र विकासमा खर्चन, उत्पादनका लागि आवस्यक पूर्वाधार तयार पार्न एवम् आपूर्ति श्रृङ्खला तयार पार्न अग्रीम रुपमै ब्यापक लगानी गर्नुपर्छ ।

कोभीड १९ देखि विश्वब्यापी भूराजनीतिक तनाव, ढुवानी मार्गमा बढ्दो असुरक्षा एवम् गाडी र ब्याट्री उत्पादनका लागि आवस्यक पर्ने लिथियम, निकल र तामाजस्ता कच्चापदार्थको कमी र चर्को मूल्यबृद्धिजस्ता कयौँ समस्याले अहिले ईभी निर्मातालाई तनाव दिएको छ । त्यसमाथि ज्यादै सघन प्रतिस्पर्धा र सीमित बजार अर्को जोखिम निम्त्याउने कारण बनेको छ ।

टाट पल्टिँदै कम्पनी

यसअघि ब्रिटेनमा ब्याट्री उत्पादन गर्ने कम्पनी ब्रिटिश–भल्ट १६ करोड पाउण्ड हाराहारी ऋणमा डुबेपछि आफ्ना २३२ कर्मचारीमध्ये अधिकतरलाई निकालेर टाट पल्टिएको घोषणा गरिएको थियो । विद्युतीय बस र ब्याट्री बनाउने अमेरिकी कम्पनी प्रोटेरा इन्क पनि २०२३ मा टाट पल्टिने स्थितिमा पुगेको थियो । त्यस लगत्तै प्रोटेराले नै ब्याट्री आपूर्ति गराउँदै आएको स्वेडेनको विद्युतीय ट्रक उत्पादक भोल्टा ट्रक्स पनि गत साल टाट पल्टियो ।

उच्च क्षमताका ब्याट्री उत्पादन गर्ने स्वेडेनकै अर्को कम्पनी एलिलायन इनर्जी सिस्टम पनि उसलाई लिथियम उपलब्ध गराउने सहायक ठेकेदारले बेलैमा कच्चापदार्थ नदिँदा टाट पल्टएको छ । उता ताइवानको लगानीकर्ता फक्सकनले ५ करोड २७ लाख अमेरिकी डलर लगानी गर्दा समेत विवाद उत्पन्न भएपछि अमेरिकी विद्युतीय ट्रक निर्माता लर्डस–टाउन मोटर्स कर्पोरेशन (नु रिड इन्क) ले टाट पल्टिएको घोषणा गरेर आफैँलाई विक्रीमा राखेको थियो ।

लिथियम आयन ब्याट्री उत्पादन गर्ने अमेरिकी कम्पनी इनर डेल इन्क भने आफ्नो ग्राहक कठीन वित्तीय संकटमा परेपछि भुक्तानी नपाएर टाट पल्टियो । अमेरिकाकै ईभी निर्माता फिस्कर इन्क पनि पाँच महिनाअघि मात्रै टाट पल्टियो । नगद प्रवाहको अभाव, उत्पादनमा ढिलाई र विक्री लक्ष्य भेट्टाउन नसक्नुले उसलाई अप्ठेरोमा पारेको थियो । यसअघि सन् २०१३ मा पनि फिस्कर अटोमोटिभ यसरै नै टाट पल्टिएर बन्द भएको थियो ।

अमेरिकाको इलेक्ट्रिक लास्ट माइल सोलुसन इन्क (इस्म्स) र ब्रिटेनको अराइभल पनि टाटा पल्टिए । टेस्ला र बीवाईडीजस्ता ठूला कम्पनीको मूल्य युद्धमा पिल्सिएर पनि साना तथा मझौला चिनियाँ अटो निर्माताहरु समेत समस्यामा परेका छन् । डब्ल्यूएम मोटर्स (वेटमाइस्टर)ले सन् २०१९ देखि २०२२ सम्म १ लाख हाराहारी गाडी बेचेर पनि ऊ टिक्न सकेन र ब्याङ्क्रप्सी फाइल गर्यो । लेटिन ब्राण्डमा गाडी उत्पादन गर्ने कम्पनी रिडिङ अटोमोबाइल, न्यूट्रोन, इभरग्राण्डी अटो (हेङ्छी) जस्ता ब्राण्ड र कम्पनीहरु गम्भीर आर्थिक समस्याबाट उत्पादन रोक्न बाध्य भएका छन् ।

ठूला कम्पनी पनि समस्यामा

भियतनामको अटो निर्माता भिनफास्ट लगातार घाटामा गएपछि यसको माउ कम्पनी भिनग्रुप नै समस्यामा गर्न थालेको भनेर ७ महिना अघि नै रोयटर्सले खबर लेखेको थियो । भिनग्रुपका संस्थापक अर्बपति फाम नहत भुओङ्गले सन् २०१७ देखि गत डिसेम्बर अन्त्यसम्म ११.४ अर्ब अमेरिकी डलर भिनफास्टमा पूँजी लगानी गरेका थिए । तर पछिल्लो ३ वर्षमा मात्रै भिनफास्टले ५.७ अर्ब डलर घाटा ब्यहोरोको रोयटर्सले लेखेको छ ।

चीनको निओ इन्कले सन् २०२३ मा ३ अर्ब अमेरिकी डलरको वित्तीय घाटा ब्यहोरेको थियो । चिनियाँ ईभी बजारमा अधिक आपूर्ति र कडा प्रतिस्पर्धा देखिएको छ । त्यसको असर चीनका ईभी निर्माताहरु अप्ठेरो अवस्थामा छन् । अमेरिकाको रिभियन अटोमोटिभले पनि यो साल आफ्नो उत्पादन लक्ष्य नै घटाइदिएको छ । म्याग्नेट वायरजस्ता महत्वपूर्ण वस्तुको अभावका कारण उसले उत्पादन घटाएको हो ।

साथै यो कम्पनी उच्च उत्पादन लागतको सामना गर्नु परिरहेको छ । उसले २०२३ मा एउटा गाडीको उत्पादनमा औसत ३० हजार अमेरिकी डलर घाटा खानु परेको थियो । अमेरिकाको सेयर बजारमा सूचीकृत भएयता यो कम्पनीको मूल्य लतातार ओरालो लागेको छ । अमेरिकाकै लुसिड मोटर्स र टेस्लाजस्ता कम्पनी पनि वित्तीय चुनौती सामना गरिरहेका छन् ।

फोर्ड र जनरल मोटर्स (जीएम) जस्ता ‘लिगेसी अटोमेकर्स’ पनि अहिले समस्यामा छन् । फोर्डले विद्युतीय सवारीको फन्दामा लाग्दा सन् २०२३ मै साढे ५ अर्ब अमेरिकी डलर घाटा व्यहोर्नु परेको विवरणहरु सार्वजनिक भएका छन् ।अमेरिकी स्टर्टअप कम्पनी फराडे फ्युचर्सले २०२३ मा जम्मा १० वटामात्रै गाडी बेच्न सक्यो । अन्य अमेरिकी कम्पनीहरु क्यानू इन्क, निकोला कर्पोरेशन, वर्कहर्सजस्ता पनि गम्भीर वित्तीय चुनौतीमा छन् ।

चीनको चमक कहिलेसम्म ?

चीनले स्वदेशी अटोमोटिभ उद्योग र विद्युतीय प्रणालीलाई दिने गरी एक दशक अघि विशेष पहल थालेको थियो । यसले चीनमा धेरै व्यवसायीलाई ईभीको गाडी उत्पादन गर्ने रहर जाग्यो । उनीहरुमध्ये थुप्रैले अधिकतर युरोपेली अटो निर्मातासँगको साझेदारीमा काम गरे । यसले चीनको अटो बजारका लागिमात्रै होइन, वैश्विक स्तरमा पनि चिनियाँ ब्राण्डका गाडीले डङ्का पिट्यो ।

सन् २०२३ मा चीनले पहिलो पल्ट जापानलाई उछिनेर संसारकै सबैभन्दा ठूलो कार निर्यातक बन्यो । तर यसलाई दुई तरिकाले हेर्न थालिएको छ । एकाथरीले विश्वब्यापी ईभी प्रविधि एवम् बजार विस्तारका लागि यो एक मौका ठान्छन् । अर्काथरीले चाहीँ युरोपेली–अमेरिकी अटो निर्माताका निम्ति खतराको नजरले हेर्छन् ।

चीन सन् २००९ देखि नै प्यासेञ्जर भेहिकलका निम्ति संसारको सबैभन्दा ठूलो बजार रहँदै आएको छ । त्यहाँ गाडीको खपत वार्षिक औसत ७ प्रतिशत हाराहारी बढ्दै गएको छ भने सन् २०२३ सम्म आउँदा २ करोड ६० लाख गाडी विक्री भएका छन् । गत साल चीनमा कुल प्यासेञ्जर भेहिकलको विक्रीमध्ये ईभीको हिस्सा ३५ प्रतिशत थियो । २०२५ सम्म इन्धनमा आधारित सवारीको तुलनामा ईभीको विक्री बढी हुने प्रक्षपण गरिएको छ ।

तर अहिले एकाएक मूल्य युद्ध र उपभोक्ताको सावधानी एवम् कमजोर मागका कारण चिनियाँ अटो बजार पनि वित्तीय चुनौतीको चपेटामा परेको छ । यस्तो समस्या समाधान गर्न चीनले कर्जा लगानीसम्बन्धी नीतिलाई निकै खुकुलो पारेको छ । सन् २०१८ मा लगाइएको अग्रीम भुक्तानी (डाउन पेमेन्ट) नीति ७ महिना अघि नै रद्द गरिएको छ ।

त्यहाँ ईभी खरीदकर्ताले कम्तिमा १५ प्रतिशत र इन्धन गाडी खरीदकर्ताले २० प्रतिशत डाउनपेमेण्ट तिर्नुपर्ने प्रावधानलाई हटाएर अब बैंकले नै यससम्बन्धी निर्णय गर्नसक्ने बनाइएको छ । अर्थात् अब डाउनपेमेण्ट नै नतिरी पनि कार किन्न पाइने भएको छ । पुरानो गाडी बेचेर नयाँ किन्न चाहनेका लागि बैंकको ऋण अग्रीम भुक्तानी गर्दा लाग्ने जरिवाना पनि हटाउन वा कम गर्न त्यहाँको केन्द्रिय बैंकले प्रोत्साहत गरिरहेको छ ।

देशमा विक्री भएको ९० प्रतिशतभन्दा ज्यादा ईभीलाई कर छुट दिने प्याकेज गत डिसेम्बरमै ल्याइएको थियो । ७२ अर्ब अमेरिकी डलरको ईभी प्रोत्साहन प्याकेज सन् २०२८ सम्म चल्ने छ ।

यस्ता कयौँ प्रोत्साहन र सुविधाका बाबजुद खासगरी चीनको सबैभन्दा ठूलो ईभी ब्राण्ड बीवाईडीले गत मार्चतिरबाट छेडेको मूल्य युद्धका कारण सबै कार निर्मातालाई मूल्य घटाउनु पर्ने बाध्यता सिर्जना भएको छ । यस्तो अवस्थामा अमेरिका र युरोपमात्रै होइन, चीनकै कयौँ साना तथा मझौला कार निर्माता कम्पनीहरुको वित्तीय स्वास्थ्य धर्मराउन थालेको छ ।

अहिले पनि चीनमा बीवाईडी, निओ र एक्स–पेङ आक्रामक विस्तारमै देखिएका छन् । तर यो दौड कसरी अघि बढ्छ र केही वर्ष पछिसम्म दौडमा कोको बाँकी हुन्छन् अनि कोको मैदानबाटै बाहिरिइसक्छन् भन्ने हेर्न बाँकी छ ।

यसै पनि, संसारले अहिलेको इन्धनमा आधारित (आईसीई) गाडीको विकल्प त खोजेको छ । तर त्यो विकल्प ब्याट्री प्रविधिमा आधारित विद्युतीय गाडी नै हुन्छ कि अर्को कुनै मजबूत प्रविधिको विकास हुन्छ भन्ने निश्चय भइसकेको छैन । यो संक्रमणकालको तुलनात्मक अन्त्य नजिकिँदासम्म अहिले देखिएका थुप्रै ब्राण्डहरुको अस्तित्व नामेट भइसक्ने संभावना भने टरेको छैन ।

प्रतिक्रिया दिनुहोस्