‘कर सप्ताह’शुरू: कतै सचेतना कार्यक्रम हुँदै कतै भन्सार कार्यालयमै छैनन् कर उठाउने कर्मचारी
काठमाडौं,मंसिर २ । ‘कर प्रणालीको सार, लगानीको आधार’भन्ने प्रमुख नाराका साथ १३औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताह शनिबारदेखि शुरू भएको छ । राष्ट्रिय कर दिवस मङ्सिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालयले आयोजना गरेको कर सप्ताह देशैभर शुरू भएको हो । मूल्य अभिवृद्धि कर अर्थात् आधुनिक एवं वैज्ञानिक कर प्रणालीको सुरुवात भएको दिन विसं २०५४ मङ्सिर १ गते स्मरण गर्दै राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।
सोहि अवसरमा विभिन्न ठूला करदातहरू लाई कार्यलयले सम्मान समेत गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो ।
यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) छ भने निजी कम्पनीतर्फ धेरै आयकर तिर्ने करदाताका रुपमा श्रुति ट्रेडर्स सम्मानित भएका छन् । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाह सम्मानित भएका छन् ।
किमाथाङ्का भन्सार कार्यालयमा छैनन् कर्मचारी
देशैभरी कर सप्ताह मनाइदै गर्दा सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा भने कर्मचारी नै छैनन् । नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् । किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ ।
किमाथाङ्का सीमा भन्सारको कामका लागि तीन–चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनुपर्ने बाध्यता रहेको छ । भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो । उत्तरी क्षेत्र किमाथाङ्का नाका गत जेठ १२ गते सञ्चालनमा आए पनि भन्सार कार्यालय नहुँदा भोट खोलावासीले सास्ती पाएका छन् ।
पोखरा र विराटनगरमा प्रभातफेरी
स्थानीय व्यवसायी तथा सर्वसाधारणमा करसम्बन्धी सचेतना फैलाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय पोखराले आजदेखि ‘कर सप्ताह’ कार्यक्रम शुरू गरेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान प्रभातफेरि आयोजना गरी पोखराका विभिन्न ठाउँमा कर सचेतनाका बारेमा जानकारी गराइएको हो ।
प्रभातफेरिपछि कार्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले यहाँ उद्योग, व्यवसायीले राज्यले निर्धारण गरेको राजस्व तिर्दै आएका भन्दै करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा आउन आग्रह गरे । आन्तरिक राजस्व कार्यालयले सचेतनामूलक कार्यक्रममार्फत कर नतिर्नेलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कार्यालयको उक्त अभियानमा सङ्घले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै व्यवसायीले इमानदारीपूर्वक कर तिर्ने हो भने राज्य बलियो हुनुका साथै विकास, निर्माणले गति लिने धारणा राखेका थिए ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत व्यवसायी, उद्योगीसँग अन्तरक्रिया, सञ्चारमाध्यमसँग संवाद, शिक्षण संस्थामा कर शिक्षा, उत्कृष्ट करदातालाई सम्मान, विभिन्न स्थानमा कर सचेतनालगायत कार्यक्रम गरिने जानकारी दिए । यस वर्षको राष्ट्रिय कर दिवस ‘कर प्रणालीको सार लगानीको आधार’ भन्ने नाराका साथ मनाउन लागिएको जनाउँदै कर अधिकृत शर्माले सबै व्यवसायीलाई राज्यले निर्धारण गरेको कर नियमित र समयमै तिर्न आग्रह गरे । अडिटर एशोसियशन कास्कीका अध्यक्ष कमल रेग्मीले व्यवसायीलाई करको दायरामा ल्याउन लेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले राज्यलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्तगरे ।शनिबार आयोजित प्रभातफेरि कार्यक्रम पोखरा सभागृहबाट शुरू भई सृजनाचोक, सिमलचौर, रत्नचोक हुँदै रान्तरिक राजस्व कार्यालयमा पुगेर कर सचेतना सभामा परिणत भएको थियो ।
त्यस्तै, विभिन्न प्लेकार्डसहित आन्तरिक राजस्व कार्यालय विराटनगरबाट सुरु भएको प्रभातफेरि नगरका विभिन्न भागको परिक्रममा गरी पुनः कार्यालयमा सभामा परिणत भयो । सभामा कर प्रणाली चुस्तदुरुस्त हुनुपर्ने र करदातालाई सरकारले सहजीकरण गर्नुपर्ने वक्ताहरुले जोड दिएका थिए । उद्योग र व्यापारविना करमा बढोत्तरी हुन नसक्ने भएकाले सरकारले उद्योग र व्यापारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने उनहरुको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले करविना राष्ट्रको निर्माण हुन नसक्ने भएकाले यसमा सबैले इमान्दार भएर प्रत्यन गर्नुपर्ने आवश्यकता औँल्याए। आन्तरिक राजस्व कार्यालयका प्रमुख भूपालराज शाक्यले जनताको उपभोग्य क्षमता घटेको र उत्पादन बढ्न नसकेकाले कर असुलीमा केही समस्या देखिए यसलाई निराकरण गर्न सबैले आफ्ना तहबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
भद्रपुर कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले देशको कर प्रणालीलाई सही र प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि राजश्व प्रशासनको महत्वपूर्ण भूमिका हुने बताए । कार्यालयले ‘बिलिङ’लाई प्रभावकारी बनाउन निरन्तर बजार अनुगमन गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्लास्थित विभिन्न उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा करदाता उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।
‘सबैलाई करको दायरामा ल्याउन कर शिक्षा आवश्यक’
सबैलाई करको दायरामा ल्याउन करसम्बन्धी जानकारीमूलक शिक्षा आवश्यक रहेकामा सरोकार भएकाले जोड दिएका छन् । आन्तरिक राजस्व कार्यालय भरतपुरको संयोजनमा आयोजित कार्यक्रममा सहभागीले कर करले नभई स्वस्फूर्त रूपमा तिर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कर शिक्षाका बारेमा आमनागरिकलाई आवश्यक जानकारी उपलब्ध गराउन सबैको सहकार्य आवश्यक रहेको बताए। उद्योगी, व्यवसायीरूले कर शिक्षाका बारेमा बेवास्ता गर्न नहुने भन्दै नागरिकले आफूले तिनुपर्ने करलाई दायित्वका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । उनले व्यवसाय सञ्चालन गर्नुअघि करका बारेमा अनिवार्य जानकारी लिन सबैलाई आग्रह गरे ।
कर शिक्षाका बारेमा व्यवसयीले जानकारी पाएको खण्डमा कर तिर्नबाट नभागी जागरुक हुने उहाँले विश्वास व्यक्त गरे । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायीमा करका बारेमा सामान्य ज्ञान नहुँदा समस्या आउने गरेको बताए । चितवन उद्योग सङ्घका कार्यवाहक अध्यक्ष मदन घिमिरेले कर शिक्षाका बारेमा सबैलाई चेतना जगाएर करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । जिल्लास्थित हार्डवयर व्यवसायी सङ्घका अध्यक्ष नरहरि घिमिरिले कर शिक्षा विद्यालय तहदेखि दिनुपर्ने आवश्यकता औँल्याए । अडिटर एशोसियशन नेपालका अध्यक्ष प्रदीपराज वस्तीले कर शिक्षा बुझेपछि व्यवसायीमा करसम्बन्धी आउने समस्या समाधान गर्न सहज हुने बताए ।
नेपाल चार्टस एकाउन्टेन्स सङ्घ (एक्यान) का जिल्ला उपाध्यक्ष लक्ष्मन अधिकारीले कागजी प्रक्रियालाई विस्तारै विस्थापन गर्दै जानुपर्ने उल्लेख गरे । जिल्लास्थित नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष गोपाल भट्टराईले कर प्रणालीलाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर शिक्षाका बारेमा विद्यालयतहदेखि बुझाउनुपर्ने भएकाले विद्यालयसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको बताए । कार्यक्रममा जिल्लाका विभिन्न सुरक्षा निकायका अधिकारी, सङ्घसंस्थाका प्रतिनिधि तथा विभिन्न विद्यालयबाट विद्यार्थीहरूको सहभागिता थियो ।
आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर शिक्षाका बारेमा विद्यालयतहदेखि बुझाउनुपर्ने भएकाले विद्यालयसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको बताए । कार्यक्रममा जिल्लाका विभिन्न सुरक्षा निकायका अधिकारी, सङ्घसंस्थाका प्रतिनिधि तथा विभिन्न विद्यालयबाट विद्यार्थीहरूको सहभागिता थियो ।
करको दायरा विस्तार गरिने
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार करको दरभन्दा दायरा विस्तार गर्न लागेको बताएका छन् । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले करको दायरा बढाउँदै कर प्रणालीमा सुधार गर्नेतर्फ सरकारले ध्यान दिएको बताए। “राज्य बलियो भए उद्योग–व्यवसाय बलिया हुन्छन् । त्यसैले राज्यलाई बलियो बनाउन राजस्व लक्ष्यभन्दा बढी सङ्कलन हुनुपर्छ”, उहाँले भन्नुभयो, “राजस्व असुली कम गर्ने छुट कसैलाई छैन ।” खुला सिमानाका कारण राजस्व छली हुने समस्या घटाउन उद्योगी– व्यवसायी, कर्मचारी र प्रहरी अझ सक्रिय हुनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांसद दीपा शर्मा, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले राजस्व हिनामिना गर्ने छुट कसैलाई नहुने बताएका थिए ।
करका लक्ष्य प्राप्तिका लागि इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर हुनहुने बताए ।
उनले भने, “विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको छ । तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्नुहोस् ।” असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व सङ्कलन हुन नसक्ने जनाउँदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताए ।
अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धी हासिल गर्नसक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको उहाँको भनाइ छ । “करदाता र कर प्रशासनबीच सोहार्दपूर्ण वातावरण बनाउन आवश्यक छ । कर प्रशासनले करदातालाई अनुचित ढङ्गले दुःख दिनु हुँदैन”, उनले भने । राससको सहयोगमा