बंगलादेशमा आजदेखि बिजुली निर्यात गर्दै नेपाल, तीन देशका ऊर्जामन्त्रीले भर्चुअलरूपमा उद्घाटन गर्दै



काठमाडौं,कात्तिक ३० । भारतले स्वीकृति दिएपछि नेपालले शुक्रवार १२:४५ बजेदेखि बंगलादेशमा ४० मेगावाट बिजुली बेच्न शुरू गर्ने भएको छ । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको ऊर्जासचिव सुरेश आचार्यले बताए । 

‘नेपाली समय अनुसार दिनको १२:४५ बजे परराष्ट्र मन्त्रालयको सभाहलमा कार्यक्रम गरेर तीन देशका ऊर्जामन्त्रीले संयुक्तरूपमा स्वीच थिचेर बिजुली पठाउने कार्यक्रमको उद्घाटन गरिनेछ,’आचार्यले भने ।

नेपालले वर्षायामका पाँच महिना (हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म) बंगलादेशलाई बिजुली बेच्ने सम्झौता भएकाले यस वर्षका लागि भोलि राति १२ बजेसम्म मात्रै बिजुली बेचिने आर्चायले बताए । 

हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली विक्री गर्ने सम्झौता छ । सोहीअनुसार यस वर्षको अन्तिम १ दिन विद्युत् निर्यात गरि शुरूआत गर्न लागेको आचार्यले जानकारी दिए ।

यद्यपि अन्य समयमा पनि विद्युत माग भएमा तथा देशमा पर्याप्त विद्युत उपलब्ध भएमा जुनसुकै समयमा पनि विद्युत पठाउन सकिने उनको भनाइ छ ।   

नेपालले पहिलो पटक डलरमा विद्युत् विक्री गर्न लागेका हो। बंगलादेशमा बिजुली बेच्न गत असोज १७ गते काठमाडौंमा नेपाल-भारत- बंगलादेशको त्रिपक्षीय सम्झौता भएको थियो । प्राधिकरणले २५ मेगावाटको त्रिशूली र आफ्नै सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने छ । 

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश निर्यात हुनेछ । त्यसका लागि विद्युतको मिटर मुजफ्फरपुरमा रहनेछ । त्यसैले ढल्केवरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नुपर्नेछ ।

मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस्