मितेरी सहकारीको रकम अनियमितता प्रकरण : कांग्रेस उपसभापतिसँग प्रहरीले लियो कागजी बयान



काठमाडौं,कात्तिक २९ । ललितपुरस्थित मितेरी सहकारीको रकम अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङसँग कागजी बयान लिएको छ । 

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार धनराजसँग बुधबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म बयान लिइएको हो । 

उनीमाथि श्रीमती ज्योति गुरुङसँग मिलेर मितेरी सहकारीको रकम अनियमितता गरेको भन्दै सीआईबीमा उजुरीसमेत परेको छ । ज्योति महाप्रबन्धक रहेका बेला श्रीमान र श्रीमती मिलेर रकम हिनामिना गरेको आरोप लागेको छ । ज्योतिले १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको आरोप छ । 

धनराजमाथि छानबिनका लागि संसदमा समेत प्रश्न उठेको थियो । सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी विशेष छानबिन समितिले पनि गुरूङमाथि अनुसन्धान गरी शीघ्र कारबाही गर्न निर्देशन दिएको थियो । 

ज्योतिविरुद्ध भने रेड कर्नर नोटिस जारी भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्