झारखंडमा विधानसभा चुनाव : पहिलो चरणमा ४३ सिटमा मतदान
नयाँ दिल्ली (भारत),कात्तिक २९ । भारतको झारखंडको विधानसभा चुनावअन्तर्गत पहिलो चरणमा १५ जिल्लाका ४३ सिटका लागि बुधवार मतदान भएको छ ।
यो चरणमा पूर्वी सिंहभूम जिल्लाका ६ सिटमा मतदान भएको छ । यस्तै पलामू, पश्चिमी सिंहभूम र राँचीका ५–५ सिटमा, हजारीबाग र सरायकेला–खरसांवा जिल्लाका ३–३ सिटमा मतदान भएको हो ।
यसैगरी चतरा, गढवा, गुमला, खूंटी, लातेहार, लोहरदगा र सिमडेगा जिल्लाका २–२ र कोडरमा र रामगढका १–१ सिटमा मतदान भएको छ ।
मतदानमा ६५.२७ प्रतिशत मत खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिको चुनावमा यी क्षेत्रमा ६३.७५ प्रतिशत मत खसेको थियो ।
यो चरणमा ६८३ उम्मेदवार चुनावी मैदानमा छन् । त्यहाँ दोस्रो चरणको चुनाव भने यही नोभेम्बर २० (मंसिर ५ गते) हुनेछ । दुवै चरणमा गरी ८१ सिटका लागि मतदान हुँदैछ । एजेन्सीको सहयोगमा