बिदेशबाट सहुलियतको सुन ल्याउँदा करको बोझ



काठमाडौँ, कात्तिक २८ । वैदेशिक रोजगारीमा गएका व्यक्तिले स्वदेश फर्किंदा सुन ल्याउन पाउने व्यवस्था भए पनि राज्यको दोहोरो नीतिका कारण सर्वसाधारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै करको बोझ उठाउन बाध्य छन् । 

अर्थ मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको ‘यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी सूचना’ मा विदेशबाट फर्किंदा महिलाले ५० र पुरुषले २५ ग्राम सुन ल्याउन पाउने व्यवस्था गरिए पनि संशोधित कानुनी छिद्रका कारण नागरिकले करको बोझ बोक्न बाध्य भएका हुन् । 

२०८० जेठ १५ गते राजपत्रमा प्रकाशित सूचनामा रसायन प्रयोग भएकालाई मात्रै गहना करार गरिएपछि वैदेशिक रोजगारीमा गएका नागरिक विमानस्थलमै चर्को करको मारमा परेका हुन् । त्यसयता दिनहुँजसो बर्सौंपछि स्वदेश फर्किने युवा विमानस्थलमा अतिरिक्त कर तिरिरहेका भेटिन्छन् । 

कतिपय महिला पुरुष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीसँग ‘५० र २५ ग्राम सुन ल्याउन पाउने आफ्नो अधिकार हो’ भन्दै बहस गरिरहेका भेटिन्छन् । कतारबाट बुधबार नेपाल आएका झापाका केवल खड्काले २५ ग्राम सुनको कर ५९ हजार ९२ रुपियाँ तिर्नुभयो । उहाँले भन्नुभयो, “११ वर्ष भयो कतारमा काम गरेको, आउने जाने गरिरहन्छु तर दुई वर्षअघिसम्म दुःख गरेर कमाएको पैसाले आमालाई गहना बनाइदिन सुन ल्याउँदा कुनै समस्या भएन । यसपालि एकै पटक ५९ हजार गयो ।”

के छ राजपत्रमा ?

राजपत्रको सूचनामा ‘सुनको गहना पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपियाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाका रूपमा ल्याउन पाइने छैन’ भनिएको छ । 

राजपत्रमा भएको यही व्यवस्थाबारे नागरिक सुसूचित नहुँदा पनि २५ र ५० ग्राम सुन ल्याउँदा चर्को कर तिर्न बाध्य भएका हुन् । खड्काले सुनका बेरुवा औँठी, बाला, सिक्री ल्याउन नपाइने भए २५ र ५० ग्राम सुन ल्याउने भनेर गरिएको व्यवस्था खारेज गरिदिए हुने बताए । उनले भने, “दुबईमा बनाएका गहना हाम्रा आमा, दिदीबहिनीले लगाउनुहुन्छ र ? यो नियम किन ल्याइएको हो, शङ्कै लागेर आयो ।”

‘गहना ल्याउने हो, सुन होइन’

नेपाली नागरिकले आधा दशकअघिसम्म सरकारले तोकेको परिमाणमा ढिका सुन नै ल्याउन पाउने व्यवस्था थियो । त्यो सुन आफ्नो चाहना अनुसार नेपाली डिजाइनका गहना बनाएर लगाउने प्रचलन थियो । तर अहिले बेरुवा औँठी, बाला, सिक्री ल्याउनै नपाउने भन्ने व्यवस्थाले धेरै नागरिक प्रताडित छन् । दुबईबाट नेपाल फर्किएका रामेछापका हरिप्रसाद भण्डारीले २५ ग्राम सुन ल्याउँदा कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्थामा सुधार गर्नुपर्ने बताए । उनले भने, “तस्करी गर्ने होइन, हामीले घरमै प्रयोग गर्नका लागि २५ ग्राम सुन ल्याउँदा पनि यो किसिमको ज्यादती भएपछि हामीले कोसँग आशा गर्ने ?”

अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभाग निर्देशक एवं सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले काँचो सुन एक सय ग्रामसम्म ल्याउन पाउने व्यवस्था भए पनि त्यसको कर लाग्ने बताए । उनका अनुसार २५ ग्राम सुनको बेरुवा औँठी ल्याउन पाइँदैन । उनले भने, “पुरुष र महिलालाई २५ र ५० ग्राम सुन ल्याउन दिने भनेको चाहिँ यात्रुले यात्रामा गहना लगाउँछ, त्यो गहना लगाउन दिने सुविधाका लागि मात्रै हो । औँठी, बाला आदिलाई गहनाको दर्जा नदिने भनेर प्रतिबन्धात्मक वाक्यांशमा व्याख्या गरेको छ ।”

उनले २०८० सालयता यो नियम लागु भए पनि त्यसअघिको व्यवस्थाबारे अनविज्ञता प्रकट गरे । उनले भने, “यात्रुले कानुन नबुझेर दुःख पाएका हुन् । विभागले कानुन बनाएको होइन, सरकारले बनाएको हो कानुन, हामीले कार्यान्वयन गरेका हौँ । अघिल्लो बजेटमा रसायन नभएका गहना नमान्ने भन्ने थियो । यो बजेटमा ब्रासलेट, बाला, सिक्री जस्ता आकार मात्रै लिएकालाई गहना भन्न नमिल्ने भनिएको छ ।” आर्थिक वर्ष २०८०÷८१ मा कांग्रेस–माओवादी गठबन्धन सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत थिए  । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट तत्कालीन अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका हुन्  । 

‘नागरिकलाई करको भार गलत’ 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले वैदेशिक रोजगारीमा गएका नागरिकले २५ र ५० ग्राम सुन ल्याउँदा कर तिर्नुपर्ने बाध्यता स्वार्थ सृजित समस्या भएको बताए । उनले राज्यको दोहोरो नीतिका कारण दोहोरो शुल्क तिर्नु परिरहेको बताए । 

उनले भने, “सहुलियत पाउने सुनमा कर लगाउँदा नागरिक पीडित भएका छन् । सरकारले सिलिङ तोक्नुपथ्र्यो । घर चलाउनका लागि रेमिट्यान्स पठाउनेले आमा, बुवा र पत्नीका लागि एक सय ग्राम सुन ल्याउन पाउने भनेर कर छुट गरेर तोकिएको हो । पहिले अलि बढी पनि ल्याउन पाइन्थ्यो । अहिले २५ र ५० ग्राम छ । यो करको विषय अपरिपक्व नियम बनाएको छ । खारेज गर्नु पर्छ ।”

व्यवसायी शाक्यले घरखेत बेचेर विदेश गएका नेपाली युवा फर्किंदा घरायसी प्रयोगका लागि ल्याएको ५० ग्राम सुन परिवारका लागि हो भनेर बिर्सिन नहुने बताए । उनले भने, “पहिले ढिक्का सुन ल्याउन पाइन्थ्यो । त्यसरी ल्याउँदा गुणस्तर पनि समस्या परेन । बढी खर्च परेन । थोरै भए पनि नागरिकलाई आर्थिक राहत हुन्थ्यो । निश्चित परिमाणमा बिस्कुट र लकेट ल्याउन पाइन्थ्यो । यसरी ल्याउँदा देशलाई नै फाइदा हुन्छ ।”

उनले विदेशमा गहना बनाउँदा ज्याला पनि अनावश्यक खर्च हुने बताए । उनले गहना बनाएपछि पनि रसायन परेको फेन्सी गहना मात्रै ल्याउन पाइने नियम बनाएर वैदेशिक रोजगारीमा गएका नागरिकलाई आर्थिक आहत दिइएको दाबी गरे । व्यवसायी शाक्यले महिलाले ५० र पुरुषले २५ ग्राम सुन ल्याउँदा कुनै किसिमको तस्करी आकर्षित नहुने बताए । उनले व्यवसायीलाई ज्याला प्राप्त हुँदा सर्वसाधारणले शुद्ध सुन उपयोग गर्न पाउने तर्क गरे । उनले वर्तमान सरकारलाई यो नियम सुधार्न आग्रह गरे । 

उनले भने, “सरकारको राजस्वमा चुहावट नहोस्, सँगै नागरिकको खर्चमा पनि राज्यका तर्फबाट मल्हमपट्टी होस् । पूर्ववर्ती सरकारले गरेको यो निर्णयका सन्दर्भमा ध्यान दिने र वैदेशिक रोजगारीबाट फर्किंदा २५ र ५० ग्राम सुन ल्याउँदा भन्सार छुट हुने व्यवस्था कायम राख्नेमा हामी विश्वस्त छौँ ।” 

उनले बर्सौं काम गरे फर्किंदा विमानस्थलमै सुन खोसियो भनेर रुने दिनको अन्त्य हुनुपर्ने र राज्यले यस सन्दर्भमा सहजीकरण गर्नुपर्ने बताए । उनले भने, “यदि सरकारलाई ठिक लाग्दैन भने कारण देखाएर २५ र ५० ग्राम पनि ल्याउन बन्द गरियोस्, होइन भने नागरिकलाई विमानस्थल झर्नेबित्तिकै दुःख दिने काम बन्द गर्नु पर्छ ।” गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्