एकीकृत समाजवादीका नेता एमालेमा प्रवेश
दुल्लु,कात्तिक २८ । नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य तथा आसन्न हुने महावु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंगबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
नेकपा एकीकृति समाजवादीको केन्द्रीय समितिको भेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी रहँदा शाहीसहितको टोली एमालेमा प्रवेश गरेको हो । मंगलबार आयोजित एक कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा मुख्यममन्त्री यमलाल कँडेलले उनीहरुलाई पार्टीमा प्रवेश गराए ।
नेकपा एसको केन्द्रीय सदस्य रहेका शाही गाउँपालिकाको सस्थापक अध्यक्ष समेत हुन् । हक्की स्वभावका जुझारु नेताका रुपमा परिचित उनी आसन्न मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजबादीको प्रस्तावित उम्मेदवार हुन ।
उपनिर्वाचन नजिकिदै जाँदा समाजबादीका नेता एमालेमा प्रवेशलाई एमालेको चुनावी रणनीति भएको कतिपयको बुझाइ छ । शाहीले आफू पुरानै घरमा फर्किएको प्रतिक्रिया दिएका छन् ।
यसअघि पहिलो निर्वाचन नेकपा (एमाले) ले जितेको थियो । दोस्रो कार्यकालको लागि नेपाली काँग्रेसले जित निकालेको थियो । लक्ष्मण गुरुङ्ले जितेका सो ठाउँमा उहाँको निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा काँग्रेस र एमालेविच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दैलेख जिल्लाको महावु गाउँपालिकामा अध्यक्ष पदका लागि हुने उपनिर्वाचले यहाँको माहोल तातिएको छ ।