नेपालले कुवेतलाई एक सय ६५ रनले हरायो



काठमाडौ,कात्तिक २७ । कप्तान पूजा महतोको कीर्तिमानी शतकसँगै अलराउन्डर प्रदर्शनमा नेपालले युएईमा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनले हराएको छ । 

युएईको अजमानमा मङ्गलबार भएको पाँचौं खेलमा जितका लगि नेपालले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा सबै विकेटको क्षतिमा ४८ रनमा समेटिएको थियो । 

कुवेतका लागि कप्तान जिफा जिलानीले ४२ बलमा ३६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कुवेतका आठ खेलाडी शून्य रनमा आउट भएका थिए ।

बलिङमा अलरान्डर प्रदर्शन गरेकी नेपालकी कप्तान पूजाले पाँच विकेट लिइन । उनले चार ओभरमा आठ रन खर्चिएर पाँच विकेट लिएकी हुन्  । रचना चौधरी र सिमाना केसीले दुई दुई विकेट झारिन  । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा दुई सय १३ रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागि पूजाले प्रतियोगिताकै पहिलो ऐतिहासिक शतक प्रहार गरिन ।

उनले ६९ बलमा १७ चौकाको सहयोगमा अविजित एक सय ३० रन बनाएकी हुन्  । यस प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पूजाको पहिलो शतक हो । यस्तै सोनी पाख्रिनले ४३ रन बनाइन । उनले ३३ बलमा दुई चौकाको सहयोगमा उक्त रन बनाएकी हुन् ।

सावित्री धामीले ११ र साना प्रविनले ६ रन जोडिन् । बलिङमा कुवेतकी कप्तान जिफा जिलानी र मारिना डि सोजाले एक एक विकेट लिइन । नेपालले अब अन्तिम खेल कात्तिक २८ गते युएईसॅंग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ । 

प्रतिक्रिया दिनुहोस्