अलैँची मनको एक लाख
इलाम,कात्तिक २७ । पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ । अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो ।
स्थानीय बजारमा मात्र होइन भारतमा पनि अलैँचीको मूल्यमा सुधार आएको छ । नेपाली अलैँचीको मुख्य बजार भारतमा साताको पहिलो दिन सोमबार नेपाली अलैँचीले मूल्य पाएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले बताए । “आज भारतको बजारमा गुणस्तरीय अलैँचीको नेपाली मूल्य एक लाख दुई हजार कायम भएको छ । यसलाई अलैँचीको बजारमा देखिएको सुधारको सङ्केत मान्नु पर्छ,” उनले भने ।
अध्यक्ष पौड्यालले भने, “यहाँ उत्पादित ५० प्रतिशत अलैँची हाम्रो बजारबाट बाहिरिएको छ । अब बाँकी ५० प्रतिशत अलैँची अर्को फसल उत्पादन हुनुअगाडि नै बाहिरिने अवस्था छ । यस कारण पनि अलैँचीको मूल्यको सङ्केत राम्रो छ ।”
उनले १२ वर्षपछि आइतबार अलैँची प्रतिमन (४० किलो) एक लाख रुपियाँका दरले कारोबार भएको बताए । अलि साना दाना भएको अन्य जातको अलैँची भने प्रतिमन ९५ हजारदेखि ९९ हजार रुपियाँसम्म कारोबार भएको पौड्यालले बताए ।
राम्रोसँग सुकाएर राखेको, पुच्छर काटेको अलैँचीको अझै मूल्य बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । पौड्यालले भने, “अलैँची जति राखे पनि बिग्रँदैन, असार–साउनमा टिपेर राम्रोसँग सुकाएर राखेको अलैँची आउँदो चैत महिनातिर बिक्री गर्दा पनि फरक पर्दैन । यस पटक किसानले आफैँ राम्रो मूल्य हात पारेका छन् ।”
एक लाख रुपियाँ प्रतिमनका दरले अलैँची बिक्री गर्न पाउँदा अलैँची खेती गर्न उत्साहित भएको सन्दकपुर–२ का किसानकुमार पौड्यालले बताए । “यसअघि अलैँची बिक्री गरिसकेपछि मात्र अलैँचीको भाउ आउँथ्यो । यस पटक भने किसानको घरमै अलैँची हुँदा मूल्य आएको छ ।”
पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभालगायतका जिल्लामा अलैँची खेती हुने गरेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ७८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ ।