२१औं हस्तकला ब्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता हुने, के छ आकर्षण ?
काठमाडौं,कात्तिक २७ । नेपाल हस्तकला महासंघले यही मंसिर २० देखि २४ गतेसम्म काठमाडौंमा २१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहना अनुरूप वस्तु डिजाइन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदानप्रदान गर्ने, स्वदेशी तथा विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा शीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्ने उद्देश्यले उक्त मेला आयोजना गरिन लागिएको महासङ्घले जनाएको छ ।
महासंघका अनुसार मेलामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा हुने मेला काठमाडौंको बौद्धस्थित होटेल हायात ग्राउन्डमा आयोजना गरिने भएको छ ।
मेलामा हस्तकलाका वस्तुहरूको करीब १५० ओटा स्टलहरू रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्ता रूपमा भारत, चीन, पाकिस्तान, बङ्गलादेशका व्यापारीहरूको समेत सहभागिता रहने बताइएको छ । मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू, जिल्ला हस्तकला संघहरू र वस्तुगत संघहरू समेतको सहभागिता रहने छ ।
मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामग्रीहरू प्रर्दशनी तथा विक्रीमा राखिने छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकीकृत व्यापार रणनीति कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरूलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम छ । त्यसैगरी मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क स्टल प्रदान गरिने छ ।
मेलाको प्रमुख आर्कषणको रूपमा रहेको १९औं संस्करणको हस्तकला प्रतियोगिता (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी)अन्तर्गत परम्परागत विधातर्फ लोपोन्मुख अवस्थामा रहेको बुट्टेनली र समसामयिक विधातर्फ गलैंचा बुनाइमा प्रतियोगिता हुनेछ । सो प्रतियोगितामा प्रतिविधा न्यूनतम १५ जनाको सहभागिता रहने अपेक्षा छ ।
साथै प्रतियोगितामा प्रत्येक विधामा उत्कृष्ट घोषित ३ जना कलाकारहरूलाई नगद पुरस्कार प्रदान गरिने छ, जसमा प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार दिइनेछ । प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिने छ । साथै मेलाको अवसरमा आर्थिक वर्ष २०८०/८१ को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा क्रियाशील भई विशेष योगदान पुर्याउने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता, कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ ।
मेलाकै सन्दर्भमा हस्तकलाका विविध विधामा संलग्न कलाकारहरूको प्रतिभा पहिचान गराउने र कलाकारहरूको व्यापार व्यवसायलाई प्रवर्द्धन गराउने उद्देश्यले कला प्रदर्शनी २०८१ आयोजना गरिने भएको छ ।
त्यसैगरी मेलामा विदेशस्थित नेपाली राजदूतावासको स्वरुप कस्तो हुनुपर्छ भन्नेबारे नमूना प्रदर्शन गरिने छ ।
व्यापार मेलाको उद्देश्यहरू :
- नेपाली हस्तकला वस्तुहरूको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्द्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात व्यापार प्रवर्द्धन गर्ने ।
- नेपाली उद्यमी, व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारीकरणमा सहयोग पुर्याउने ।
- नवोदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्ने ।
- हस्तकला र नेपाली संस्कृतिबीचको अन्तर सम्बन्धलाई जनमानसमा उजागर गर्ने ।
- विदेशी क्रेताहरूलाई हस्तकला वस्तुहरू एकै स्थानबाट खरीद गर्ने अवसर प्रदान गर्ने ।
- आयात र निर्यात बीचको दुरी घटाई व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुर्याउने ।
- नेपालमा एउटै मितिमा अन्तर्राष्ट्रियस्तरको हस्तकला व्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश स्वदेही, विदेशी क्रेता तथा स्वदेशी खरीदकर्ताहरूमा प्रवाह गर्ने ।
ब्यापार मेलाका आकर्षणहरू :
- एकै छानामुनि हस्तकला वस्तुहरूको बृहत् प्रदर्शनी तथा विक्री
- १९औं हस्तकला प्रतियोगिता
- परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त शीप प्रदर्शनी
- अमूर्त साँस्कृतिक सम्पदाको उजागर
- क्रेता विक्रेता भेला
- समसामयिक विषयमा गोष्ठी तथा सेमिनार
- जेष्ठ तथा वरिष्ठ कलाकारहरूलाई सम्मान
- कला प्रदर्शनी
- अग्रणी निर्यातकर्ताहरू र कार्गो कम्पनीहरूलाई सम्मान