कञ्चनजङ्घामा जाने पर्यटक बढे
ताप्लेजुङ, कात्तिक २६ । ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । यो विश्वकै तेस्रो अग्लो हिमाल हो । पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा यस पटक आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।
भदौदेखि सुरु भएको अहिलेको पर्यटकीय मौसममा हालसम्म विदेशी पर्यटक मात्र करिब सात सय जना कञ्चनजङ्घा आएका छन् । आन्तरिक पर्यटक विदेशीभन्दा दोब्बर बढी आएको स्थानीय व्यवसायीले बताएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फ्रान्स, अमेरिका, जापानसहितका देशका पर्यटक आएका छन् ।
हालको मौसममा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न सबैभन्दा बढी फ्रान्स, अस्ट्रेलिया, जर्मनीलगायतबाट पर्यटक आएको शेर्पाले जानकारी दिए । उनका अनुसार गत वर्ष यो मौसममा करिब छ सय जना विदेशी पर्यटक आएका थिए । यस वर्ष अहिले पनि विदेशी पर्यटक आउजाउको क्रम चलिरहेको कञ्चनजङ्घा आधार शिविर क्षेत्रका होटेल व्यवसायी सेराप शेर्पाले जानकारी दिए ।
उनका अनुसार विदेशीसँगै उल्लेख्य रूपमा स्वदेशी अर्थात् आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरिरहेका छन् । उनले दसैँ र तिहारको समयमा अधिक पर्यटक कञ्चनजङ्घा भ्रमणमा पुगेको बताए । चाडपर्वको समयमा आन्तरिकमा स्थानीय पर्यटकको ठुलै सङ्ख्याले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको उनको भनाइ छ । सदरमुकाम फुङ्लिङस्थित होटेल माउन्टेनका सञ्चालक विमल भण्डारीले पनि गत वर्षभन्दा यस वर्ष ताप्लेजुङ भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको बताए । होटल व्यवसायी भण्डारीका अनुसार हालको मौसममा गत वर्षभन्दा यस वर्ष विदेशी पर्यटक बढी आएका छन् । कञ्चनजङ्घा आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण यस पटक सदरमुकाम फुङ्लिङसहित आधार शिविर क्षेत्रमा सञ्चालित होटेल राम्रै चलेको व्यवसायी बताउँछन् ।
पर्यटन व्यवसायीका अनुसार वर्षमा दुई याम पर्यटक कञ्चनजङ्घा भ्रमणमा आउने गरेका छन् । पहिलो चैत, वैशाख र जेठ तथा दोस्रो भदौ, असोज, कात्तिक र मङ्सिरमा पर्यटक आउने गर्छन् । बाँकी असार र साउन महिना झरी वर्षा तथा पुस, माघ र फागुन महिनामा हिउँका कारण पर्यटकको आउजाउ ठप्प हुने गरेको व्यवसायीको भनाइ छ ।