कपिलवस्तु अस्पतालबाट सतासी लाखका औषधी गायब
कपिलवस्तु, कात्तिक २६ । कपिलवस्तु अस्पताल तौलिहवाबाट ८७ लाख रुपियाँभन्दा बढीको औषधी रहस्यमय तरिकाले हराएको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालको फार्मेसीबाट औषधी हराएको छानबिन समितिले ठहर गरेको छ ।
आव २०८०/८१ मा औषधीको स्टकमा कैफियत देखिएपछि समिति गठन गरी स्टक जाँच र छानबिन सुरु गरिएको थियो । अस्पताल व्यवस्थापन समितिको साउन २९ गते बैठक बसी व्यवस्थापक मेनका रानाको संयोजकत्वमा मौज्दात औषधी र सफ्टवेयरको तथ्याङ्क भिडाउन जिम्मा दिइएको थियो ।
आव २०७९/८० मा स्टक मिलान गराउँदा ४४ लाख रुपियाँभन्दा बढीको औषधी गायब गरिएको थियो । उक्त आवमा एक करोड ३७ लाख ५२ हजार ६९९ रुपियाँको औषधी स्टक देखिएको थियो तर आव २०८०/८१ मा ९५ लाख ९४ हजार ३९६ रुपियाँको औषधी सफ्टवेयरमा इन्ट्री गरिएको थियो । यसरी ४१ लाख ५८ हजार ३०३ रुपियाँको औषधीको हिसाब नै गायब गरिएको थियो ।
यसै गरी आव २०८०/८१ को अन्त्यमा स्टक जाँच गर्दा सात लाख ५४ हजार रुपियाँभन्दा बढी औषधी हराएको भेटिएको छ । उक्त औषधीको बिक्री मूल्य ४६ लाख ३३ हजार ६३० रुपियाँ रहेको छ । अस्पताल प्रशासनले असोज २ गते पत्र काटेर ८७ लाख ९१ हजार ९६३ रुपियाँको हिसाब बुझाउन पूर्वफार्मेसी अधिकृत वीरेन्द्रप्रसाद गुप्तालाई पत्राचारसमेत गरिएको छ । समितिले एकाउन्टिङ सफ्टवेयर कम्पनी पूर्णिमा आइटीको सहयोग लिई गणना गरेको थियो ।
औषधी मेसुको क्लिनिकमा
पूर्वमेसु डा. विपिन जयसवाल र उहाँका भाइ डा. विकास जयसवालले सञ्चालन गरेको सञ्जीवनी क्लिनिकले अस्पतालबाट औषधी खरिद गरेको देखिएको छ । अस्पतालबाट उक्त क्लिनिकको नाममा १९ पटक औषधी बिक्री गरिएको थियो । त्यसरी बिक्री गर्दा प्रतिबन्धित औषधीसमेतको कारोबार भएको छ तर अस्पतालबाट क्लिनिकका नामका औषधी खरिद भएको डा. विकास जयसवालले दाबी गरे । अस्पतालले टेन्डर गरी खरिद गरेको औषधी डिस्टिब्युटर्सभन्दा धेरै सस्तो पर्ने बताइएको छ । यसै गरी फार्मेसीबाट कपिलवस्तु अस्पतालका नाममा ४१ पटक औषधी बिक्री गरिएको छ । एक पटकमा एक लाख रुपियाँसम्म औषधीको बिल काटिएको छ । ती औषधी कहाँ बिक्री गरिएको थाहा नभएको फार्मेसीका कर्मचारीले बताएका छन् ।
छानबिन सुरु गर्ने मेसुको सरुवा
२०७१ सालबाट चिकित्सक रहेका डा. बन्जाडेले २०७६ सालमा मेसुको कार्यभार समाल्नुभएको थियो । उहाँको २०८० जेठमा सरुवा भएको थियो । सङ्घीय सरकार परिवर्तन भएसँगै २०८१ जेठ २९ गते डा. बन्जाडेको दोस्रो पटक कपिलवस्तु अस्पतालमा सरुवा भयो । बिचको एक वर्ष डा. विपिन जयसवाल निमित्त मेसु भएका थिए । दोस्रो पटक कार्यभार समालेको दुई महिनामा डा. बन्जाडेको कोशी अस्पतालमा सरुवा भएको थियो । औषधी हराएको विषयको छानबिनकै कारण उनको सरुवा भएको स्रोतको दाबी छ ।