‘मानव तस्करी’को आशंकामा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति



काठमाडौ,कात्तिक २६ । ‘मानव तस्करी’को आशंकामा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा सांसद लिलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला अदालतले आइतवार दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

प्रहरीले उनलाई विराटनगरस्थित निवासबाट आइतबार पक्राउ गरी यति एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याइएको थियो । उनलाई काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सिधै काठमाडौं जिल्ला अदालत लगिएको थियो ।    

कुटनीतिक मर्यादाविपरीत जापान गएका उनले आफूसँगै तीन जनालाई मन्त्रालयको कर्मचारी बनाएर जापान छिराउने प्रयास गरेका थिए । उक्त प्रयास ‘मानव तस्करी’ भएको भन्दै उनलाई कारवाही गर्नुपर्ने दबाब परेको थियो । 

नेकपा एमालेको तर्फबाट मोरङ निर्वाचन क्षेत्र नम्बर २ को २ बाट निर्वाचित अधिकारी प्रदेश सभा सदस्य हुनुअघि कानून व्यवसायी थिए । 

यस्तो छ घटनाको नालीबेली 

उनी प्रदेश सरकार र संघीय सरकारको समेत स्वीकृति नलिई आटर्स काउन्सिल टोकियोले यही कात्तिक १३ गते आयोजना गरेको कार्यक्रममा सहभागी हुन जापान गएका थिए । उनको आफ्नो टोलीमा हङकङबाट रसुवाका कञ्चन देवकोटा, खोटाङका दावा शेर्पा र जनक राईलाई समेत सहभागी गराएका थिए । 

तर, जापानको टोकियो विमानस्थलको अध्यागमनले कार्यक्रमको कागजात र मन्त्रीसँगै गएकाहरूको कागजात शंकास्पद रहेको भन्दै अनुसन्धान गरेर कात्तिक १७ गते नेपाल डिपोट गरेपछि मन्त्री अधिकारीको मानव तस्करीको पोल खुलेको थियो । अधिकारीलाई जापान पठाउने चाजोपाजो मिलाउने उनकै निर्वाचन क्षेत्रका गोपाल गौतम हुन । मन्त्रीसँग डिपोट भएका तीन जनालाई प्रहरीले एयरपोर्टबाटै पक्राउ गरेको थियो । उनी भने आज मात्र पक्राउ परेका हुन् । 

पार्टी, सरकार र केन्द्रीय सरकारलाई समेत जानकारी नदिई गैरकानूनी तरिकाले जापान गएको विषय विवाद बनेपछि उनले गत बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रीबाट राजीनामा दिएका थिए । यो प्रकरणमा मन्त्रीसहित ७ जना पक्राउ परिसकेका छन् । 

सांसद अधिकारीलाई एमाले संसदीय दलले स्पष्टीकरणसमेत माग गरेको छ । राज्यको कानूनी प्रक्रियासमेत अवलम्बन नगरी विदेश यात्रा गरेको र त्यसबारे संसदीय दललाई समेत जानकारी नगराएको भन्दै दलको तर्फबाट संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अधिकारीलाई २४ घण्टे स्पष्टीकरणको पत्र थमाएका हुन् । 

‘राज्यको कानूनी प्रक्रियासमेत अवलम्बन नगरी विदेश यात्रा गर्नुभएको जानकारी प्राप्त भएबमोजिम तपाईंले विधानको दफा २१ (१) को खण्ड (ख) विपरीत कार्य गर्नु भएको देखिएको हुँदा तपाईँलाई विधानको दफा २३ (१) को खण्ड (ख) (ग) र (घ) बमोजिम किन कारवाही नगर्ने सो विषयको स्पष्टीकरण यो पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश संसदीय दलको कार्यालय विराटनगरमा प्राप्त हुने गरी पेश गर्न निर्देशन गरिएको छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्