अंश विवादमा काभ्रेमा छोराले गरे बुबाको हत्या
बनेपा, कात्तिक २५ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–७ मा अंश नदिएको झोकमा छोराले बुबाको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आइतबार पत्रकार सम्मेलन गर्दै पिताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका नमोबुद्ध नगरपालिका–७ धारापानी पुजारीथुम्काका ४४ वर्षीय रामलाल श्रेष्ठलाई सार्वजनिक गरेको हो।
रामलालले अंश नदिएको निहुँमा विवाद बढेपछि कात्तिक ८ गते राति ७४ वर्षीय पिता बलबहादुर श्रेष्ठको हत्या गरेका थिए। पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा रामलालले कात्तिक ८ गते पिता बलबहादुरले भाइलाई समेत बोलाई अंश दिन्छु भन्ने विषयमा भनाभन परेपछि रामलालले बाबुको हत्या गरेको खुल्न आएको बताए ।
“अनुसन्धानका क्रममा अंशको विषयमा विवाद बढेपछि छोराले बुबालाई अनुहार र टाउकोमा मुक्काले प्रहार गरी बुबाको छेउमा रहेको हँसियाले टाउकोमा चार/पाँच पटक प्रहार गरेको र त्यसपछि नजिकै रहेको ढोकामा लगाउने आग्लोको रुपमा प्रयोग गर्ने गरेको फलामको गल निकाली प्रहार गर्दा बुबा (बलबहादुर) ढलेको र सोही समयमा गलले घाँटी थिचेर हत्या गरी फरार भएको खुल्न आएको छ”, पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक घलेले भने। पिताको हत्यापछि फरार रहेका रामलाललाई खोजतलासको क्रममा शुक्रबार स्थानीय ढोडेनी वनमा लुकीछिपी बसेको अवस्थामा स्थानीयबासीको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पिताको हत्या आरोपमा पक्राउ परेका रामलालमाथि थप अनुसन्धानका लागि आइतबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। कात्तिक १० गते राति करिब १० बजेको समयमा नमोबुद्ध नगरपालिका–७ धारापानीस्थित पुजारी थुम्का बस्ने बलबहादुर श्रेष्ठ आफ्नै घरमा आफू सुत्ने कोठामा मृत अवस्थामा छोरीले फेला पारी काकालाई खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।
पिताको हत्यामा संलग्न रहेका रामलाल हत्या गरेको राति स्थानीय ढोडेनी वन र ढोडको कुन्यूमा दुई साता लुकेर बसेका थिए। पिताको हत्यामा संलग्न रहेका रामलालले यसअघि पितालाई कुटपिट गरी घाइते बनाएको खुल्न आएको प्रहरी नायव उपरीक्षक घलेले बताए । उनले प्रहरीको तथ्याङ्क हेर्दा आफूलाई घाइते बनाएका छोरालाई पिता बलबहादुरले खाना बनाएर खुवाउने र आफ्नो हेरचाह गर्ने छोरा रामलाल रहेकोले कारवाही नगर्न अनुरोध गरेर छोरालाई प्रहरीकोबाट जिम्मा लिएर गएको बताए ।