ट्राभल एजेन्सीले पाउने टीबीए सुविधा खारेज गरि भाडा घटाउने सरकार र हवाई सेवा प्रदायक बिच सहमति
काठमाडौं,कात्तिक २५ । सरकारका प्रतिनिधि र हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि बीच ट्राभल एजेन्सीले पाउने टीबीए (टु बि एड्भाइज्ड) सुविधा खारेज गरि भाडादर घटाउने सहमति भएको छ । विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा भाडादरको विवाद उत्पन्न भएको थियो । हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात सञ्चालनका विषयमा सरकार र हवाई सेवा प्रदायक बिच टीबीए खारेज गर्ने लगायत ५ बुँदे सहमति भएको हो ।
टीबीए सुविधा हवाई सेवा कम्पनीहरूले ट्राभल एजेन्सीलाई यति टिकट विक्री गर भनि पहिलेनै एकमुष्ट दिने टिकट हो । जुन टिकट जति पछिसम्म राख्यो सोही अनुसार मूल्य बढ्ने र अन्तिम समयमा विक्री गर्ने भएकाले ती टिकट होल्ड हुने गर्छन् । त्यस्ता टिकट खारेज भएमा टिकट सप्लाइ बढ्ने र भाडादर घट्ने प्राधिकरणका एक अधिकारीले अभियानसँग भने । ‘ टीबीए एयरलाइन्स कम्पनीले ट्राभल कम्पनीलाई दिने सुविधा हो । यस मार्फत एजेन्सीलाई दिएका त्यस्ता टिकट जति पछिसम्म राख्यो सोही अनुसार मूल्य बढ्ने भएकाले ति टिकट होल्ड हुने गर्छन् । त्यो खारेज भएको हो,’ उनले भने, ‘यो खारेज हुँदा टिकटको मूल्यमा स्वत: प्रभाव पर्छ ।’
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार हालको निर्णयले टीबीए खारेज भएपछि एजेन्सीहरूले सरकारले तोकेको बढिमा २० प्रतिशत कमिसनमात्रै लिन पाउने छन् ।प्राधिकरणका अधिकारीका अनुसार भाडादर कसरी घटाउन सकिन्छ भन्ने उपायको खोजी गर्दा यो व्यवस्था लागू गरिएको हो । सहमतिमा यो व्यवस्था कहिलेसम्म लागू हुने भन्ने तोकिएको छैन ।
अन्तरराष्ट्रिय हवाइ सेवामा भाडादर कति लिने भन्ने नहुने र भाडाको निर्धारण माग र आपूर्तिका आधारमा तय हुने भएकाले निश्चित भाडादर तोक्न नमिल्ने ति अधिकारीले बताए । ‘अन्तरराष्ट्रिय हवाइ सेवामा भाडादर कति लिने भन्ने हुँदैन । माग र आपूर्तिका आधारमा भाडाको निर्धारण हुने गर्छ । हामी उनीहरूको प्रत्यक्ष नियमनकर्ता होइनौ । त्यसैले यो हाम्रो आग्रह मात्रै हो, यसमा उहाँहरू सहमत हुनुभएको छ,’ ‘उनले भने, ‘यो आज देखि लागू भएको छ।’ सहमति अनुसार सेवा प्रदायकले टिकट शुल्क पनि सार्वजनिक गर्नुपर्ने भएको छ ।
शनिवार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक, प्राधिकरणका पदाधिकारीहरू तथा अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिहरु भएको छलफलमा अनुचित भाडा नलिने सहमति भएको प्राधिकरणले जनाएको छ ।
के छ सहमतिमा
- सम्पूर्ण वायुसेवा संचालकहरुले ट्राभल एजेन्सीहरुलाई पछि टिकट विक्री गर्ने गरी एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (TBA) खारेज गर्ने र सम्पूर्ण वायुसेवा कम्पनीहरुले यसको अनिवार्य पालना गर्ने ।
- सवै वायुसेवा संचालकहरुले द्विपक्षीय हवाई सेवा सम्झौताको Pricing शिर्षकमा उल्लेख भए अनुसार “उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने” प्रावधानको पूर्णतः पालना गर्नु पर्ने ।
- सवै वायुसेवा संचालकहरुले उडान वृत्त वमोजिमको हवाई भाडा सूचि तोक्ने तथा सार्वजनिक गर्नुपर्ने । ट्राभल एजेन्सीहरुसँग टिकट विक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र विक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ ।
- तोकिए वमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा संचालकको हुनेछ । वायुसेवा संचालकहरुले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने ।
- माथि उल्लेखित प्रावधानहरुको पालनाका सम्बन्धमा कुनै गुनासो भएमा नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयमा वा प्राधिकरणका बरिष्ठ अधिकृत श्री विष्णु प्रसाद पौडेल (मोबाइल नं. ९८४२१७०७२९) सँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल नगर्न सरकारका निकायबाट पहल भइरहेको थियो ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी थिइन् ।
उक्त आग्रह अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले भाडादरमा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता लिएका थिए । भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेको भन्दै मन्त्री पाण्डेले शुक्रबार मन्त्री देउवा, श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका थिए ।
छलफलका क्रममा विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरूले कार्टेलिङ गरेको हुन सक्ने भन्दै बैदैशिक रोजगारसँग सम्बद्ध व्यबसायीहरुले यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
वैदेशिक रोजगारीमा जानेहरुका लागि नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यस अघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको थियो । छलफलका क्रममै लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएनका अध्यक्ष दीपक थापाले यसमा एयरलाइन्स कम्पनीहरु र केही ट्राभल एजेन्सीहरुको हात ठूलो हात रहेको बताएका थिए ।
सरकारले मर्मतको समयावधिभर विकल्पको रूपमा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको विकल्प दिएको थियो । काठमाडौंलाइ वेस बनाइ उडान गर्दै आएका अन्तष्ट्रिय हवाइ सेवा प्रादयकले उक्क विकल्पमा उडान गर्न तयार भएका थिएनन् भने भाडादर उच्च भएको गुनासो समेत आएको थियो ।