हवाई भाडा बृद्धि बिरुद्ध सरकारको हस्तक्षेप, अब दिल्लीको बाटो पनि खुल्ला गरिँदै
काठमाडौं,कात्तिक २३ । अन्तराष्ट्रिय विमान सेवा कम्पनीहरुको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्न सरकारले हस्तक्षेप गर्ने कोसिस गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे बद्री पाण्डेको अग्रसरतामा यस्तो कोसिस भएको हो ।
भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेको भन्दै मन्त्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजू राणा देउवा, श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँग हवाई भाडावृद्धिका बारेमा छलफल गरेका छन् ।
सो अवसरमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि भारतको नयाँ दिल्लीस्थित विमानस्थल प्रयोग गर्न यस अघि लगाइएको रोक खुला गर्ने तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडानका लागि सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
तर हवाई सेवा कम्पनीहरुले काठमाडौँबाट दिल्ली जाने भाडा नै ह्वात्तै बढाइदिएका छन् । शनिबार काठमाडौँबाट दिल्ली पुग्ने एकतर्फी प्लेन भाडा कम्तिमा ६४ हजार ५८४ रुपैयाँ पर्ने भएको छ । जबकी फ्लाइट इमिरेट्सले भारु. ३६ हजार २१० (५७ हजार ९३६ नेपाली रुपैयाँ)मा दिल्लीबाट दुबई पुर्याइदिन्छ । यसरी नेपालबाट विदेश जाने प्लेन भाडा निकै चर्को भएको भन्दै गुनासो आएपछि मन्त्री पाण्डेले यसको समाधान खोज्न अग्रसरता लिएका हुन् ।
छलफलका क्रममा विमानस्थलको ट्याक्सी वे विस्तारका लागि रातीको समय विमानस्थल बन्द भएको बहानामा केही विमान कम्पनीहरुले कार्टेलिङ गरेको हुन सक्ने भन्दै बैदैशिक रोजगारसँग सम्बद्ध व्यबसायीहरुले यस विषयमा सरकारले निर्मम भएर निर्णय गर्नु पर्ने बताएका थिए ।
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएनका अध्यक्ष दीपक थापाले नेपालबाट अन्तराष्र्टिय हवाई भाडामा अस्वभाविक रुपमा वृद्धि भइरहेको र यसो हुनुमा एयरलाइन्स कम्पनीहरु तथा केही ट्राभल एजेन्सीहरुको ‘ठूलो हात’ रहेको बताए। उनले भने, ‘गरिब श्रमिकहरु सामान्यभन्दा चार गुणा बढी हवाई मूल्यमा टिकट किन्न बाध्य बनाएको छ । यस विषयमा सरकारले कडा कदम चाल्न जरुरी छ ।’
हवाई टिकमा कटौती हुँदा सबैभन्दा बढी सरकारलाई नै घाटा भएको परराष्ट्रमन्त्री आरजु राणा देउवाको भनाइ छ । उनले पर्यटनमन्त्रीको अध्यक्षतामा पुनः बैठक बसेर समस्या टुंग्याउनु पर्ने बताइन् । तत्काललाई यात्रुहरुलाई मध्यनजर गर्दै दिल्लीबाट उडान भर्नका लागि दूतावासमार्फत पहल गर्नका लागि अनुरोध गर्ने मन्त्री राणाले बताइन् ।
त्यसै गरी श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले यस अघि भारतको नयाँ दिल्लीबाट नेपालीहरु श्रमगन्तव्यमा जाने गरेको भए पनि म्यानपावर व्यवसायीहरुकै आग्रहमा मानव तस्करी बढेको गुनासोपछि रोक लगाएको बताए । मन्त्री भण्डारीले भैरहवा र पोखरा विमानस्थलबाट हवाई उडान भर्न आग्रह गरे ।
‘हवाई टिकटमा भएको मुल्यवृद्धिका कारण नेपाल आउने पर्यटकहरु समेत मर्कामा परेका छन्’ मन्त्री भण्डारीले भनेका छन्, ‘सिन्डिकेट र कार्टेलिन भएको भए त्यसलाई रोक्नुपर्छ । वैकल्पिक एयरपोर्टका लागि भैरहवा र पोखरा विमानस्थल प्रयोगमा जोड दिनुपर्छ ।’
पर्यटन मन्त्री बद्री पाण्डेले दशैं तिहारको समयमा बाढी पहिरोका कारण हवाई चाप बढ्दा आन्तरिक उडानको टिकटको मूल्य बढेको उल्लेख गरे । ‘यसअघि दशैं तिहारको समयमा बाढी पहिरोका कारण हवाई भाडावृद्धि हुन पुग्यो’, उनले भने, ‘हाल त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार गर्नका लागि विमानस्थलमा रातीको समयमा हुने उडान समय घटाएको विषयलाई लिएर हवाई टिकमा वृद्धि भएको छ।’
उनले धावनमार्ग विस्तारको सूचना बाहिरीएसँगै एयरलाइन्स कम्पनीहरुले उडान कटौती गर्ने योजना बनाइसकेको बताए । त्यसपछि पोखरा र भैरहवा अन्तराष्ट्र्रिय विमानस्थलमा फ्लाइट डाइभर्ड गर्न थालिएको भए पनि त्यसले सफलता पाउन सकेको छैन । हालसम्म तीन–चारवटा विमान कम्पनीले जाने तयारी गरिरहेका र केही गइरहेका मन्त्री पाण्डेले बताए ।
यस्तो बेला सरकारसँग पर्याप्त विमान नहुँदासमेत समस्या देखिएको उनको दाबी छ ।