अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ
काठमाडौ,कात्तिक २२ । हिन्दु महिलाको पवित्र पर्व छठ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइएको छ । छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सुरु भएको हो । ललितपुरका नदी र पोखरीमा व्रतालु तथा श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरेका हुन् ।
बागमती, नख्खु, कुपण्डोल, विष्णुमती तथा बोजेपोखरीलगायतका नदी तथा पोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्। शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठको पूजा सम्पन्न हुन्छ ।
तराईका केही जिल्लामा मात्र मनाइने गरिएको छठ पर्व पछिल्लाे समय काठमाडौँलगायत मुलुकका विभिन्न सहरमा धुमधामका साथ मनाइन थालिएको छ ।