करेन्ट लागेर एक सैन्य अधिकारीको मृत्यु, एक घाइते



मकवानपुर,कात्तिक २२ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका एक अधिकारीको मृत्यु भएको छ। करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत डँडेलधुरा गन्याधुरा गाउँपालिका वडा नम्बर १ घर भएका नेपाली सेनाका २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

करेन्ट लागेर डँडेलधुरा अमरगढी नगरपालिका-२ घर भएका नेपाली सेनाका २९ वर्षीय विनोद केसी र पाल्पा रामपुर नगरपालिका–६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका छन् । घाइते दुबै जनालाई उपचारको लागि तत्काल हेलिकप्टरद्वारा आर्मी अस्पताल छाउनी काठमाडाँै पठाएकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । 

घटनास्थलमा प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाको नेतृत्वमा भएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात दियालको शवलाई पोष्टपार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको उनले जानकारी दिए ।

सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्