उपचारका क्रममा कैदीको मृत्यु
सिन्धुली,कात्तिक २२ । सिन्धुली कारागार कार्यालयमा रहेका कैदी छिरेश्वर नगरपालिका–२ धनुषा निवासी ५४ वर्षीय रामनन्दन साह सुडीको मृत्यु भएको छ ।
निज कैदीले छाती दुखेको भनेपछि उपचारका लागि बुधबार बेलुका ६ बजे सिन्धुली अस्पतालमा उपचारका लागि ल्याउँदा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार जिल्ला अदालत धनुषाले मृतक कैदी सुडीलाई लेनदेन तथा बिगो मुद्धामा १८१ दिनको कैद फैसला गरेपछि कैद भुक्तानका लागि २०८१ साल असार २२ गते सिन्धुली कारागारमा ल्याएर राखिएको थियो ।
मृतकको पोष्टमार्टम गरेपछि बिहीबार श्रीमतीले लास बुझेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।