दोस्रो खेलमा नेपाल १०८ रनले विजयी



काठमाडौ,कात्तिक २२ । आईसीसी महिला यू–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ। सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १३० रन बनाएको थियो। १३१ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा २२ रन बनाउँदै अलआउट भएको हो।

कुवेतविरुद्धको खेलमा नेपालका लागि पुजा महतोले ३८ बलमा ४३ रन बनाइन ।साना प्रभिनले २५ रन जोड्दा ज्योत्सनिका मरासिनीले २३ र अलिशाकुमारी यादवले १५ रन जोडिन । कुवेतका लागि इकवाल पेवेकरले दुई विकेट हात पार्दा जेफा जिलियानी र अमिषा रामले एक-एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको कुवेतका ओपनर जेफा जिलियानीले १२ रन जोडिन भने  अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालकी रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई विकेट लिईन भने पुजा महतो, करिष्मा गुरुङ र मनिषाकुमारी उपाध्ययले एकएक विकेट हात पारिन ।

कुवेतमाथिको जितसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको छ। नेपालको यो लगातार दोस्रो जित हो।अघिल्लो खेलमा नेपालले थाइल्याण्डलाई बुधबार ६७ रनले पराजित गरेको थियो। कात्तिक २९ गतेसम्म सञ्चालन हुने छनोट खेलमा नेपाल, यूएई, कुवेत र थाइल्यान्ड सहभागी छन् । 

नेपालले अब तेस्रो खेल कात्तिक २४ गते युएईसॅंग, चौथो खेल कात्तिक २५ गते थाइल्यान्ड, पाँचौँ खेल कात्तिक २७ गते कुवेत र अन्तिम खेल कात्तिक २८ गते युएईसॅंग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्