नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमुलक : ऊर्जामन्त्री खड्का



काठमाडौं,कात्तिक २२ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् ।  

भारतको नयाँदिल्लीमा आयोजित अन्तरराष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर आज साँझ नेपाल फर्किएका मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताएका हुन् । 

‘नेपाल–भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको छ,’ मन्त्री खड्काले भने । मन्त्री खड्काले भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको पाएको बताए । 

उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरूसँग छलफल गरेको बताए । 

उनले अन्तरराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सम्मेलनका क्रममा नेपालको सौर्य ऊर्जाको विकासमा आईएसएले सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए । 

भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जलशक्तिमन्त्री सी आर पाटिल, आईएसएका अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशी र विद्युतमन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गरेका थिए । मन्त्री खड्काले भारतका ऊर्जामन्त्रीले नेपालमा आउने प्रतिवद्धता व्यक्त गरेको बताए । 

मन्त्री खड्काले जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको बताए । उनले काम गर्ने वातावरण भए नेपालमा भारतका कम्पनी नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्