अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित, विश्वमा के होला ‘उथलपुथल’ ?



वासिङ्टन डिसी (अमेरिका),कात्तिक २२ । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । अमेरिकी समाचार पोर्टल ‘दन्यूयोर्कटाइम्सडटकम’का अनुसार (नेपाली समयअनुसार बुधबार अपराह्न ४:२४बजेको अपडेटअनुसार) ट्रम्पले २७७ इलेक्टोरल भोट पाएका छन् । उनले पाएको भोटको संख्या त्यहाँको कुल इलेक्टोरल भोट संख्या (५३८)को बहुमतभन्दा बढी हो । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ । 

उनले निर्वाचनमा बहुमत पाए पनि जितको घोषणा भने हुन बाँकी छ । 

ह्यारिसको ‘इतिहास रच्ने’ लक्ष्य भएन पूरा

राष्ट्रपतिका अर्का प्रत्यासी डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अहिलेसम्म २२४ इलेक्टोरल भोट पाएकी छन् । यसपटकको चुनावमा अमेरिकाको प्रथम महिला राष्ट्रपति बन्ने उनको लक्ष्यमा ट्रम्प बाधक बनेका छन् । 

यसपटकको चुनावमा ह्यारिसले ‘इतिहास रच्न’ नसकेपनि ट्रम्पले भने इतिहास रचेका छन् । लगातार तेस्रो पटक राष्ट्रपतिका उम्मेदवार बनेका उनी पहिलो र तेस्रो पटक निर्वाचित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । 

उनी दुईपटक नै महिला उम्मेदवारलाई हराएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसअघि सन् २०१६ नोभेम्बर ८ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । त्यतिबेला ट्रम्पले ३०४ इलेक्टोरल भोट पाउँदा क्लिन्टनले २२७ इलेक्टोरल भोट पाएकी थिइन् । 

मंगलवार सम्पन्न राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति ह्यारिस प्रतिस्पर्धामा थिए । 

विश्व राजनीतिमा ‘उथलपुथल’को आकलन

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै विश्व राजनीतिमा ‘उथलपुथल’हुने आकलन गरिएको छ । उनले चुनावमा बोलेका कुरा पूरा गरे विश्वभर परिवर्तन आउनेछ । 

उनले आफू राष्ट्रपतिमा निर्वाचित भए युक्रेनलाई अमेरिकाले दिइरहेको सहयोग रोक्ने बताएका थिए । यसो गरेमा रुस-युक्रेन युद्धमा युक्रेन कमजोर बन्न सक्छ । 

चुनावका क्रममा ट्रम्पले गाजामाथि ‘धावा बोल्ने’ बताएका थिए । यसो गरेमा इजरायल-गाजा युद्ध चर्किन सक्छ ।  

उनको कार्यकालमा चीनसँग व्यापार युद्ध चर्किने आकलन गरिएको छ । उनको यसअघिको कार्यकालमा चीनसँग व्यापार युद्ध भएको थियो । 

उनी वातावरणवादका कट्टर विरोधीका रूपमा चिनिएका छन् । उनले आफ्नो पहिलो कार्यकालमा त्यस्तै नीति अपनाएका थिए । उनका कुरा सुन्दा अहिले पनि त्यसमा परिवर्तन आएको देखिँदैन । यसले पनि भूराजनीतिमा असर पुर्याउने सम्भावना देखिन्छ ।

उनले आफ्नो कार्यकालमा कस्तो आप्रवासन नीति अपनाउँछन् भन्ने विषय पनि चासोको मुख्य विषय बनेको छ । उनी गैरकानुनी आप्रवासनका कट्टर विरोधी मानिन्छन् । आफ्नो पहिलो कार्यकालमा उनले गैरकानुनी तरिकाले अमेरिका छिर्नेलाई निष्कासन गरेका थिए । 

चुनावका क्रममा उनले त्यही नीति अपनाउने संकेत गरेका थिए । तर, चुनावपछिको परिस्थिति फेरिएकाले पुरानै नीति कार्यान्वयन गर्लान् भन्न सकिँदैन । 

गैरकानुनी आप्रवासी अमेरिकाका साना व्यवसायीहरूका लागि फाइदाजनक छन् । त्यहाँका साना व्यवसायीहरूले यस्ता आप्रवासीलाई सस्तो ज्यालामा काममा लगाउँछन् । 

यो पटकको चुनावमा उनलाई साना व्यवसायीले पनि भोट दिएका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कर घटाएका थिए । यही कारण उनले त्यहाँका साना व्यवसायीको भोट पाएको कतिपयको आकलन छ । 

कर घटाए अमेरिकामा लगानी बढ्ने सम्भावना छ । बाहिरको लगानी देशमा फिर्ता जाने कतिपयको आकलन छ । यस्तै आईएमएफ, युएन, नेटोमा अमेरिकाको लगानी घट्न सक्ने सम्भावना रहेको जानकार बताउँछन् । 

उनले आगामी कार्यकाल कसरी अगाडि लैजानेछन् भन्नेबारे राष्ट्रपतिमा शपथ (आगामी जनवरी २०) अघि नै स्पष्ट हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्