आशैआशमा महिना बित्यो, दु:खमा चाड ! बाढी पीडितको उचित व्यवस्थापनमा राज्यको वेवास्ता
धुलिखेल,कात्तिक २२ । पनौती नगरपालिका–१२, रोशी बजार – निरन्तर वर्षाका कारण रोशी खोलामा आएको बाढीले धेरैको घर र खेत बगाएपछि पनौतीका गीता केसी छिमेकीको घरमा आश्रित भएर बस्न बाध्य छिन्। आफ्नो घर, लत्ताकपडा र भाँडाकुँडा सबै बगाएपछि राज्यबाट राहतको आशामा दिन गन्दै बसिरहेको पनि एक महिनाभन्दा बढी भइसकेको छ। उचित व्यवस्थापनमा राज्यको ढिलाइप्रति उनले गुनासो गर्दै आएकी छन् ।
गीता केसीसँगै धेरै पीडित छिमेकीहरूको घर र खेत बाढीले पूर्ण रूपमा नष्ट गरेको छ। खेतमा लगाएको धान समेत बगाएर बाढीले उजाड बनाएकोले उनीहरू अहिले छिमेकीको घरमा रात बिताइरहेका छन्। ‘खेत चाहिन्छ, तर ठाउँ बिग्रिएको छ,’ उनले भनिन्। राहतस्वरूप केही खाद्यान्न र जस्तापाता पाए पनि राज्यले दीर्घकालीन बासस्थानको व्यवस्था गरिदिए आफूजस्ता पीडितलाई थोरै राहत मिल्ने उनी बताउँछिन् ।
उस्तै हालतमा परेकी मनकुमारी तामाङले बस्ने ठाउँको अभावमा कठिनाइमा जीवन विताइरहेकी छन् । उनले पनौतीमा कोठा लिएरअस्थायी व्यवस्थामा बस्नुपरेको र स्थायी बासस्थानबारे चिन्ता व्यक्त गरिन् ।
स्थानिय बासिन्दा मैना तामाङले घर ढलेको दुःखकासाथ दशैं र तिहार खल्लो बनेको बताउँदै घरबारको अवस्था अझै अनिश्चित रहेको सुनाइन् । त्यस्तै, नवराज गुरुङ लगायत गाउँका युवाहरूले ज्यालामा काम गर्दै बाढीले थुपारेका ढुङ्गा र गेग्रान पन्छाउँदै पुरिएको घरको पुनर्निर्माणमा लागेका छन्। घर पूर्ण रूपमा बगाएको शङ्कर तामाङ अहिले छिमेकीको घरमा बस्दै आएकी छन् ।
राज्यले सुरक्षित र एकीकृत बस्ती विकासमा ध्यान दिनुपर्ने आवाज उठिरहेको छ । वडाध्यक्ष जयराम केसीले तिहारपछि जनप्रतिनिधिको बैठकबाट बासस्थान व्यवस्थापनमा छलफल हुने र उचित निर्णय लिइने बताए । यस वडामा पाँच जनाको मृत्यु र तीन सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। करिब ७० गाईभैँसी, पाँच हजारभन्दा बढी कुखुरा र दुई सयभन्दा बढी खसीबोका बाढीले बगाएको विवरण वडा कार्यालयले जनाएको छ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो प्राथमिकता आवास व्यवस्थापनलाई दिएको बताए उनका अनुसार सुरक्षित बासस्थान उपलब्ध गराउन संघीय सरकारबाट सहयोग आवश्यक रहेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहतस्वरूप खाद्यान्न र नगद सहयोग वितरणको निर्णय गरेको छ। पाँच जनासम्मको परिवारलाई रु १५ हजार र ठूलो परिवारलाई रु २० हजारका दरले सहयोग वितरण गरिने भएको छ।
अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखक, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थलगत निरीक्षण गरी बाढी प्रभावितको अवस्था बारे जानकारी लिइसकेका छन् । पेमा लामा/रासस