किन अचाक्लि बढ्यो तरकारीको भाउ ? गतवर्षको तुलनामा यसपालिको मूल्य ६६० प्रतिशतसम्म बढी



काठमाडौं,कात्तिक २१ । यो वर्ष दशैं र तिहारको बीचमा बजारमा तरकारीको भाउ अचाक्लि बढ्यो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कायम गरेको दैनिक मूल्यसूचीलाई आधार मानेर पोहोर कात्तिक १७ गते र यस वर्ष कात्तिक १९ गतेको तरकारीको भाउ तुलना गर्दा यस वर्ष तरकारीको मूल्य अचाक्लि बढेको पाइएको हो । उक्त अवधिमा हाइब्रिड काँक्रोको मूल्य सबैभन्दा बढी ६६० प्रतिशत वृद्धि भएको पाइएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोको प्रभावका कारण स्रोत स्थलमै तरकारीको उत्पादन घटेको र सडक अवरुद्ध हुँदा आयातित तरकारी पनि महँगिएपछि तरकारीको भाउ अत्यधिक बढेको सम्बद्ध अधिकारीहरूले बताए ।

गतवर्षको कात्तिक १७ गते साढे १२ रुपैयाँ किलो औसत थोक मूल्य रहेको हाइब्रिड काँक्रोको मूल्य यस वर्ष कात्तिक १९ मा ९५ रुपैयाँ कायम भएको छ । लोकल काँक्रोको मूल्य पनि ३३३ प्रतिशतले वृद्धि हुँदै ४५ रुपैयाँबाट १९५ रुपैयाँ किलो पुगेको छ ।

स्थानीय काउलीको मूल्य ४६ रुपैयाँबाट बढेर किलोको ११५ रुपैयाँ पुगेको छ । यो मूल्य गतवर्षको यसै समयको तुलनामा १५० प्रतिशतले धेरै हो । रायोको साग २५ रुपैयाँ किलोबाट बढेर ९० रुपैयाँ पुगेको छ । यो मूल्य गतवर्षको तुलनामा २६० प्रतिशतले धेरै हो । त्यसैगरी यस अवधिमा इस्कुस, तराईको गाजर र सेतो मुलाको मूल्य पनि शतप्रतिशत बढेको छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले गत असोजमा आएको बाढीपहिरोले धेरैजसो ठाउँमा किसानले तरकारी खेती गरेको बारी नै बगाएको कारण उत्पादन घट्न गई मूल्य अचाक्लि बढेको बताए । ‘बाढीले बारी नै बगाएपछि एकपटक रोपेपछि ३/४ महीनासम्म उत्पादन लिन सकिने गोलभेडाजस्ता तरकारी पनि पुन: रोप्नुपर्ने भएको छ । त्यसकारण बजारमा अहिले गोलभेडाको मूल्य अत्यधिक बढेको हो । ‘अब मङ्सिरदेखि तराईबाट गोलभेडा आउन थालेपछि मूल्य घट्छ,’ उनले भने । यतिबेला टनेलको गोलभेडाको मूल्य १३२ प्रतिशतले बढेको छ भने भारतीय ठूलो गोलभेडाको मूल्य ५८ प्रतिशतभन्दा धेरैले बढेको छ । गतवर्षको यो समयमा टनेलको गोलभेडाको औसत थोक मूल्य ४३ रुपैयाँ किलो थियो भने अहिले १०० रुपैयाँ छ । त्यसैगरी भारतीय ठूलो गोलभेडाको मूल्य ५३ रुपैयाँ ७५ पैसाबाट ८५ रुपैयाँ किलो पुगेको छ ।

बाढीले कतिपय ठाउँमा आलुखेतीसमेत बगाएपछि यतिखेर आलुको मूल्यसमेत बढेको श्रेष्ठले बताए । समितिको मूल्यसूचीअनुसार गतवर्षको तुलनामा यस वर्ष सेतो आलु र रातो आलुको मूल्य क्रमश: ५९ दशमलव ८६ र ४६ दशमलव १२ प्रतिशतले बढेको पाइएको छ ।

काठमाडौं उपत्यकाको करीब ७० प्रतिशत माग धान्ने कालीमाटी फलफूल तथा तरकारी बजारमा सामान्य अवस्थामा दैनिक औसत ७०० देखि ९०० टन हाराहारी तरकारी भित्रिन्छ । तर, पछिल्लो समय दैनिक तरकारी आपूर्ति घटेको पाइएको छ ।

समितिको दैनिक आगमन सूचीअनुसार तुलना गरेर हेर्दा यस अवधिमा गोलभेडा र रातो आलुको आगमन ९४ प्रतिशतभन्दा धेरैले घटेको देखिन्छ । गतवर्ष कात्तिक १७ मा कालीमाटीमा सानो गोलभेडा आगमन ४६ टन थियो । यस वर्ष कात्तिक १९ मा २ दशमलव ५ टन मात्रै गोलभेडा आगमन भएको देखिन्छ । त्यसैगरी रातो आलुको आगमन पनि १८९ टनबाट घटेर १० टनमा सीमित भएको देखिन्छ । यद्यपि यस वर्षको कात्तिक १९ गते भाइटीकाको भोलिपल्ट भएकाले पनि आपूर्तिमा प्रभाव परेको हुन सक्ने सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

बाढीका कारण काठमाडौं उपत्यका आसपासमा तरकारी खेती डुबानमा परेर क्षति भएकाले उत्पादन घटेको तरकारी उत्पादक किसान बताउँछन् । खोकनास्थित बागमती किनारनजिक करीब ५ रोपनीमा गोलभेडा खेती गरेका रमेश खत्रीले आफूले लगाएको सबै गोलभेडा बाढीले सखाप पारेको बताए । ‘मेरो जस्तै समस्या धेरै किसानले भोगेका छन् । त्यसैले यतिबेला गोलभेडालगायत अरू तरकारीको मूल्य बढेको हो,’ खत्रीले भने । कालीमाटी बजारमा दैनिक आउने सरदर ७०० टन हाराहारी ताजा तरकारी र फलफूलमा ७० प्रतिशत आन्तरिक उत्पादन हुने गर्छ । आलु, प्याज तथा फलफूलसहित बाँकी ३० प्रतिशत भारतलगायत विभिन्न मुलुकबाट आयात गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्