काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो, बाढीले क्षति पुर्‍याएका १९ प्रसारण लाइन सञ्चालनमा



काठमाडौं,कात्तिक २१। इलामको माईखोलामा आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ ।  गत असोज १२ गते माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ ओटा टावरमा क्षति पुर्‍याएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरूले संयुक्त रुपमा पुनर्निर्माण  तथा पुनस्थापना गरी सोमबार देखि प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । 

काम शुरू गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिएका मोहन कार्कीले बताए । प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूले विद्युत् उत्पादन शुरू गरेका छन् ।   आयोजनाहरूबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो ।

प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा नमुनाका रुपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरू लगायतका सामाग्रीहरू उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरूले श्रम लागतलगायतका खर्च बेहोरेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए ।

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमक खण्डको धोद्रेबेंसीमा ५०,५१,५२ र ५३ नम्बर टावर क्षतिग्रस्त बनेका थिए । त्यस स्थानबाट प्रसारण लाइनलाई माईखोला पार गराइएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।

चारओटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्‍याएको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको छ । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो भने ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो ।

५३ नम्बर टावरको क्रसआर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको छ । प्रसारण लाइन पुनर्निर्माणमा स्थानीय जनप्रतिधिहरूले पूर्ण सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्