पर्यटक आगमनमा क्रमिक सुधार, महामारी पूर्वको स्तरमा पुग्ला ?



काठमाडौं,कात्तिक २१। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा पर्यटक आगमनमा क्रमिक सुधार देखिएको छ । तथ्यांक अनुसार सन २०२३ अक्टोबर महिनाको तुलनामा सन  २०२४ को अक्टोबरमा पर्यटक आगमन दर ६.०४ प्रतिशतले बढेको छ । २०२३ अक्टोबर महिनामा १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल आएका थिए भने ०२४ को सोहि महिनामा  १ लाख २४ हजार ३९३  पर्यटक नेपाल आएका छन् । 

सन २०१९ सम्म राम्रो लयमा रह‍ेको नेपालको पर्यटक आगमन दर २०२० को शुरूआत देखि घटेको थियो ।  सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।विश्‍वव्यापी फैलिएको कोभिड १९ संक्रमणका कारण घटेको पर्यटक आगमन अझै सोही लयमा फर्कन सकेको छैन । तर पछिल्लो समय यसमा क्रमिक सुधार भइरहेको छ । 

यो वृद्धिसँगै सन् २०२४ को पहिलो १० महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ९ लाख ४० हजार नाघेको छ ।गत वर्ष चार वर्षमा पहिलो पटक १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका थिए। यसअघि सन् २०१८ मा ११ लाख ७० हजार र सन् २०१९ मा ११ लाख ९० हजार विदेशी पर्यटक नेपाल आएका थिए ।कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सन् २०२० को शुरुमा विश्वका विभिन्न मुलुकले यात्रा प्रतिबन्ध लगाएपछि सन् २०२० को अक्टोबरमा नेपालमा पर्यटकको आगमन घटेर २ हजार २५ मा झरेको थियो ।

तर, त्यसपछिका वर्षहरूमा यो संख्यामा निरन्तर सुधार हुँदै सन् २०२१ को अक्टोबरमा २३ हजार ३३८ र को २०२२ अक्टोबर मा ८८ हजार ५८२ पुगेको थियो। महामारीको तुलनामा पर्यटन आगमन दर ९२.७६ प्रतिशतले रिकभरी भएको छ ।

नेपालमा सबैभन्दा बढी भारतीय पर्यटक १६ हजार ३सय १३ अर्थात् १३ दशमलव ११ प्रतिशत पर्यटक नेपाल आएका छन्  । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट १६ हजार २३ (१२.८८ प्रतिशत) पर्यटक नेपाल आएका छन् । 

त्यसैगरी बेलायतबाट ८ हजार १९, चिनियाँ ७ हजार ७५० र अष्ट्रेलियाका ६ हजार ९२९ जना पर्यटक नेपाल आएका छन् । त्यस्तै  जर्मनी, फ्रान्स, बङ्गलादेश, श्रीलङ्का र इटालीले क्रमशः ४.८४ प्रतिशत, ४.४१ प्रतिशत, ३.६ प्रतिशत, २.५१ प्रतिशत र २.१२ प्रतिशत पर्यटक भित्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्